गाईको पूजा गरी मनाइयो गाई तिहार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गएर गाईको पूजाआज गरेका हुन् । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पनि पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि वस्तु प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।

कृषि-उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुनेगर्छ । प्राचिन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?