अर्थमन्त्रीसँग नवनियुक्त अमेरिकी राजदूतको भेट

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालस्थित नवनियुक्त अमेरिकी राजदूत डिनआर थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री शर्र्माले नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाले नेपाललाई संकटमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ, महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ साथै अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधार आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा पनि अर्थमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, नेपालले पर्यावरणसम्बन्धी समस्या भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फण्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्दै त्यसमा अमेरिकी सहजीकरणका लागि आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको भन्दै दुई देशबीचको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ ।’ सो अवसरमा राजदूतले नेपालसँग जोडिएर आफू काम गर्न सधैं उत्सुक रहेको बताएको अर्थमन्त्रीको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?