चुनाव बिथोल्न विप्लव नेकपाले भण्डाफोर अभियान चलाउने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो । पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले निर्वाचनको विरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरूको आयोजना गरिने बताउनुभयो । पार्टीले निर्वाचनमा भाग नलिन जनताहरूलाई अपिल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

बैठकको निर्णय जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘मंसिर ४ गतेको संघ र प्रदेशसभा सदस्यको निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गर्‍यो । खारेज अभियान प्रभावकारी बनाउन देशव्यापी रूपले चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस, सभाहरूको व्यापक रूपले आयोजना गर्ने साथै जनतालाई लुटेराहरूको चुनावमा भाग नलिन अपिल गर्ने निर्णय लिएको छ । प्रचारात्मक कार्यक्रममा राज्यले दमन गरेका उचित प्रतिरोध गर्ने पनि निर्णय गरिएको छ ।’ चुनाव खारेज अभियानलाई सहयोग पुग्ने गरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ ।

यस्तै, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ‘नौटंकी’को संज्ञा दिनुभयो । उहाँले पाँच वर्ष भ्रष्टाचार र राष्ट्रघात गरेर सर्वांग भएकाहरूलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको आरोप लगाउनुभयो । निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनविरोधी र राष्ट्रविरोधी हर्कत गर्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरूलाई गाउँ-गाउँबाट लखेट्ने बताउनुभयो । प्रवक्ता विश्वकर्माले दलहरूले घोषणापत्रमा नेताहरूको सम्पत्तिको छानविन गर्ने कुरा ‘दूधको साँक्षी बिरालो’ भएको टिप्पणी गर्नुभयो । सबैभन्दा बढी भ्रष्टले सम्पत्ति छानविन गर्ने कुरा गर्नु जनतालाई मूर्ख बनाउनु भएको उहाँको भनाइ छ ।

निर्वाचन सञ्चालन गर्न नेपाललाई भारतले दियो दुई सय सवारीसाधन
काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारीसाधन सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन हस्तान्तरण गर्नुभएको हो । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालले प्राप्त गरेको सवारी साधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवं सञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री शर्माले यी सवारी साधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभएको छ । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा तथा नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन सहयोगस्वरूप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?