काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ ।
बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो । उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनु भयो । उहाँले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भुमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्नुभयो ।
उहाँले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । एक-एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्याउन ध्यान दिन उहाँको आग्रह छ । उहाँले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘जितिहालिन्छ भन्नुभयो भने त्यो भन्दा क्षति, हाम्रो लागि आत्मघाति कुरा अरु हुँदैन । जितिहालिन्छ भन्ने त सोच्नै हुँदैन । ब्याटलमा जाने, यो ब्याटल नै हो । बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले । बुढापाकाले भन्छन् नि स्यालको शिकार गर्न बाघको तयारी गरेर जानुपर्छ भनेजस्तै । म विशेष रुपले तपाईहरुलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई र त्यसको प्रमुख नेतृत्वलाई बलियो हातसहित यस्तो रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भुमिका खेल्नसक्ने शक्ति आर्जन हुन्छ । त्यसकारण एक, एक भोटलाई कसरी संरक्षित गर्ने, कसरी त्यसलाई मतपेटिकासम्म पुर्याउने भन्नेकुरा तपाई, हामी सबैले । किनकी यो राष्ट्रको, गोरखाको र हामी सबैको भविष्यसँग रिलेटेड छ । जितिहालिन्छ भन्ने दुध हाल्ने ठाउँमा म एउटाले पानी हालेर के होला र भन्दा भन्दा दुध पोखरी त पानी पोखरी भयो भनेजस्तो हुने त होइन कतै भन्ने कुरा पनि साथीहरुले सुनाउँदै हुनुहुन्थ्यो । त्यसकारण म तपाईहरुलाई पहिलाको भन्दा अझै ठूलो शक्तिको साथ, अझै धेरै मेहनत गरेर जानुपर्याे । यति हामीले मेहनत गर्यौ र एउटा रेकर्डसहित हेर्दाखेरी त्यहाँ देखिने बेलामा नै माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट । गोरखाबाट संसारमा माओवादी देखियोस् । अरु ठाउँमा कति जित्छौँ तपाईहरुले धेरै टेन्सन नलिनुस् । त्यो टेन्सन मैले लिएको छु । तपाईहरू गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो संकल्प तपाई, हामी सबैले लिनुपर्यो । साझा संकल्प । यो सम्भव लियौँ भने असम्भव बिल्कुलै छैन । सम्भव छ । रेकर्ड बन्छ । गोरखा संसारमा फेरी नयाँ ढंगले देखिन्छ ।’
अध्यक्ष दाहालले जनताको घर-घरमा गएर मतदाता शिक्षा दिन आग्रह गर्नुभयो । उहाँले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताउनु भयो । आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखावासीका लागि चुनौती भएको उहाँको भनाई छ । उहाँले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताउनु भयो । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो- ‘प्रचण्ड आउनु भनेको त अवसर भन्नुभयो धेरैले यहाँ । अवसर मात्रै होइन, चुनौती पनि हो तपाईहरूलाई । बडो झमेला छ क्या प्रचण्ड आउने भन्या । सजिलो चिज कहाँ आएको छ र ? मलाई अस्ती थाहा नै थिएन, बाजा बज्छ भन्ने नि थाहा थिएन । नोमिनेशनको दिन पञ्चे बाजा आउँछ भन्ने । जाँदा तलैबाट देखे मैले जनता स्वतः स्फूर्त आए खुशी भएर । त्यो मेरो योजनापनि होइन । मेरो निर्णय पनि होइन । तर निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले स्पष्टीकरण दिएँ । मलाई त यो सबै थाहा भएन । हामी मनोनयन गर्न जाँदा २५ जना मात्रै गएको हो भनेर दिए । आज आएको छ प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो छैन, त्यो बाजा कहाँबाट आएको हो अनुसन्धान गर भनेर निर्देशन दिएको छ । माइक्रोस्कोप लगाएर हेरेका छन् । प्रचण्ड कता कता जान्छ के के गर्छ । कहाँ बस्छ ? कहाँ पाइन्छ भनेर खोज्ने भयो नि । यो तपाईहरुको लागि चुनौती भएन त ? यसको रक्षा त हामी सबैले मिलेर गर्नुपर्यो नि । सुरक्षा चुनौती पनि हुनसक्छ । नेतृत्वको रक्षा गर्ने चुनौती त तपाईहरुलाई थपियो ।’
अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच