खड्कालाई रोकेन अपांगताले : पशुपालनबाटै जीविकोपार्जन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । जन्मेको ६ महिनामा बागलुङको बागलुङ नगरपालिका-५ पञ्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा आगोले पोल्यो । उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको ६ महिनामा अपांग हुनुभएका ७९ वर्षीय खड्काको जीवन संघर्षले भने अझै विश्राम लिएको छैन । अहिले पनि उहाँ लौरोको सहाराले बाख्रासँगै वनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्षदेखि बाख्रा ।

४५ वर्षदेखि बीजका लागि ब्याडे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा दिन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, ‘४५ वर्षअघि १० रुपैयाँ राँगोको टुट थियो, अहिले एक हजार ५०० पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु, अहिले वर्षमा १२० भन्दा बढी गाउँका भैंसीलाई गर्भाधान मेरै राँगोले गराउँदै आएको छ, पछिल्लो १० वर्षयता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।’

खुट्टाको अपांगता भए पनि ७९ वर्षीय खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्नबाहेक अन्य काम लौरोकै सहायताले गर्ने गरेको बताउनुभयो । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्काले सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुभयो ।
‘खुट्टाको अपांगता भए पनि त्यसबेला लाउनखान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालबापत कतिले रकम दिन्थे त कतिले अन्नपात,’ उहाँले भन्नुभयो, ‘७० नपुगुन्जेल महिनाको ५०० अपांगता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिनँ नसकेपछि हेरौंला ।’

अँगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपांग भएर लौरोको सहायता लिनुपरेको उहाँको दुखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भंैसी गर्भधारण गरेबापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ । उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाइ गरेकाले घरखर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रूपमा रहेको बताउनुभयो । ‘राँगोलाई डोर्‍याउनुपर्दैन आफैं पछि लागेर हिँड्छ, बाँध्ने र फुकाउने अनि भैंसीको गोठसम्म पुर्‍याउने मात्रै हो,’ खड्काले भन्नुभयो, ‘युवादेखि बुढेसकालसम्म राँगोकै संगतले जीवन बित्न लाग्यो तर मनमा सन्तोष छ, अपांगता भएरसमेत कसैसँग हात थापेर खानुपरेन, खुसी लाग्छ ।’ खड्काले तीन/चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?