तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार चाँडै निर्माण हुने : विष्णु पौडेल

Read Time = 4 mins

बुटवल । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताउनु भएको छ। तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताउनु भयो ।

पूर्वाधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उहाँले त्यसपछि तिलोत्तमा १ का वासीहरूको मुहार बदल्ने उहाँले बताउनु भयो। मेडिकल कलेज निर्माणसँगै सडक, पूर्वाधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उहाँको भनाइ छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले बताउनु भयो ।

तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा। सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउँदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाका वडानम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजनाअनुसार १ हजार बेडको अस्पताल बन्नेछ ।

सुरुमा ३ सय बेडको हुने र क्रमश एक हजार बेडको अस्पताल बन्नेछ । बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

रुपन्देही क्षेत्र नं २ (१) का उम्मेदवार लिला गिरीसहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो ।

सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानकारी आफूलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो। साथै उहाँले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने बताउनु भयो ।

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं १ (१) का उम्मेदवार लिला गिरीले शान्ति र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताउनु भयो ।

केन्द्रमा र प्रदेशमा एमालेको सरकार निर्माण गरी जनता र राष्ट्रको पक्षमा सकारात्मक कार्य एमालेले गर्ने बताउनु भयो । साथै उहाँले तिलोत्तमालाई पर्यटकीय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको सुनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?