संकटा र चर्च ब्वाइजको बराबरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लब गोलरहित बराबरीमा रोकिएका छन् । एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाका मनिष डाँगीले इन्जुरी समयमा प्रहार गरेको पेनाल्टीमा गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो ।

खेलको इन्जुरी समयमा चर्च ब्वाइजका कमल श्रेष्ठले क्रस रोक्ने क्रममा हात प्रयोग गरेको भन्दै रेफ्रीले संकटालाई पेनाल्टी दिएका थिए । मनिष डाँगीले प्रहार गरेको उक्त पेनाल्टी गोलरक्षक प्रिसोले विफल पार्नुभयो । यस नतिजासँगै चर्च ब्वाइज अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा यथावत् छ । चर्च ब्वाइजको चार खेलमा १० अंक छ । संकटा चार खेलमा पाँच अंकका साथ आठौँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा फ्रेण्ड्स क्लबले पहिलो जित निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेण्ड्सले पहिलो जित हात पारेको हो ।

फ्रेण्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक/एक गोल गर्नुभयो । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काउनुभयो । खेलको १९औँ मिनेटमा राफिक एमिनुले गोल गर्दै फ्रेण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ४०औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २-० को अग्रता दिलाउनुभयो । खेलको ८७औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत् एक गोल फर्काउनुभयो ।

खेलको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । कप्तान सिमान्त थापाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउनुभएपछि मैदान छोड्नुपरेको थियो । फ्रेण्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उहाँलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाउनुभएको थियो ।

यस जितसँगै पहिलो जित निकालेको फ्रेण्ड्सले चार खेलमा चार अंक जोडेको छ । जावलाखेलको यो पहिलो हार हो । जावलाखेलले चार खेलमा सात अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?