ब्राजिलको सानदार जित

Read Time = 4 mins

एडिलेड । फिफा महिला विश्वकपमा ब्राजिलले पानामामाथि सानदार जित हात पारेको छ । मिडफिल्डर एरी बोर्गेसले हृयाट्रिक गर्नुभएको खेलमा ब्राजिलले पानामामाथि ४-० को जित हात पारेको हो । ब्राजिलको जितमा बोर्गेसको हृयाट्रिकसँगै बिआट्रिजले एक गोल थप्नुभयो ।

खेलको १९औँ मिनेटमा ब्राजिलका लागि एरी बोर्गेसले पहिलो गोल गर्नुभयो । ३९औँ मिनेटमा उहाँले टोलीको अग्रता दोब्बर पार्नुभयो । ४८औँ मिनेटमा बिआट्रिजले एक गोल र ७०औँ मिनेटमा बोर्गेसले हृयाट्रिक पूरा गर्दै ब्राजिललाई ४-० को जित दिलाउनुभयो । जारी विश्वकपमा यो पहिलो हृयाट्रिक हो ।

यस जितसँगै ब्राजिल समूह ‘एफ’ मा तीन अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पानामा अंकविहीन हुँदै पुछारमा छ । यो समूहमा फ्रान्स र जमैकाले समान एक अंक जोडेका छन् ।

यस्तै, जर्मनीले अफ्रिकी राष्ट्र मोरोक्कोमाथि ६-० को सानदार जित निकाल्यो । जर्मनीको जितमा कप्तान अलेक्जेन्ड्रा पपले दुई तथा क्लारा भुल र लिआ सुलले समान एक/एक गोल गर्नुभयो । जर्मनीले दुई गोल उपहार स्वरूप पाएको थियो ।

खेलको ११औँ मिनेटमा कप्तान अलेक्जेन्ड्रा पपको गोलबाट जर्मनीले अग्रता लिएको थियो । ३९औँ मिनेटमा अलेक्जेन्ड्रा पपले दोस्रो गोल गर्नुभयो । ४६औँ मिनेटमा क्लाराले तेस्रो, ५४औँ मिनेटमा हानानीले एइट इल हाजले एक गोल गरेपछि जर्मनीले ४-० को फराकिलो अग्रता लियो । ७९औँ मिनेटमा म्राबेटले आत्मघाती गोल गर्नुभयो । ९०औँ मिनेटमा लिआले गोल गर्दै जर्मनीलाई ६-० को फराकिलो जित दिलाउनुभयो ।

यस जितसँगै जर्मनीले समूह ‘एच’ मा तीन अंक जोडेको छ । मोरोक्कोले हार बेहोर्दा यो समूहमा कोलम्बिया र दक्षिण कोरियाले खेल्न बाँकी छ । इटालीले अर्जेन्टिनालाई १-० ले पराजित गरेको हो । इटालीको जितमा क्रिष्टिएना जिरेलीले निर्णायक गोल गर्नुभएको थियो ।

बराबरीतर्फ धकेलिएको खेलको ८७औँ मिनेटमा उहाँले गोल गर्न सफल हुनुभएको हो । खेलको अन्तिम समयमा क्रिष्टिएनाले गोल गर्दै इटालीलाई जित दिलाएर तीन अंक दिलाउनुभयो ।

यस जितसँगै समूह ‘जी’ मा इटालीले तीन अंक बटुलेको छ । समान तीन अंक नै रहे पनि स्वीडेन गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाले अंकको खाता खोल्न सकेका छैनन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?