मानव तस्करीको सञ्जाल फैलिँदै

अमेरिकी रोजगारीको लोभमा शिक्षित युवा नै ठगिँदै

हिमालय टाइम्स
Read Time = 8 mins

रमेश भारती/हिटा
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभनमा पारी नेपाली युवा-युवतीहरू मानव तस्करी गर्ने क्रम बढ्दो छ । विकाशित देशको रोजगारी प्रलोभनमा परी शिक्षित युवायुवती नै लाखौैँ आर्थिक ठगीमा पर्ने गरेको मानव बेचबिखन तथा अनुसन्धान (ब्युरो) प्रहरीको अध्ययनमा उल्लेख छ । जापान, अमेरिका, युएई, क्यानडा, युरोप र अफ्रिकी देशमा राम्रो रोजगारीको प्रलोभन देखाएर म्यानपावर, तीनैका एजेण्ट र रोजगार तस्करीले मासिक तीन सयभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका नाममा तस्करी गरिरहेको ब्युरो प्रहरीकै अध्ययनमा भनिएको छ । विगत तीन वर्षमा अमेरिकाबाट मात्रै मानव तस्करीमा परेका १७८ जना नेपालीलाई स्वदेश फर्काएको ब्युरो प्रहरीको तथ्यांकमा छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ४५ जना, २०७६/०७७ मा ८३ जना, २०७७/०७८ मा ३० जना, २०७८/०७९ मा १३ जना र चालु आर्थिक वर्षमा अहिलेसम्म सातजना गरी विभिन्न गैरकानुनी रूपमा अमेरिका पुगेका १७८ जना नेपालीलाई उद्दार गरी स्वदेश फर्काइएको ब्युरोले जनाएको छ । २०७९ वैशाखदेखि अहिलेसम्म वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन र मानव तस्करीमा पर्ने उच्च जोखिम भएका चार हजार १७३ जनालाई ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो । जसमा तीन सय जनाभन्दा बढी विभिन्न देश हुँदै एजेण्टमार्फत अमेरिका हिँडेका व्यक्तिसमेत परेको ब्युरोले जानकारी दियो ।

पछिल्लो समय अमेरिका, युरोप लगायतका देशमा रोजगारीको नाममा मानव तस्करी बढेको पाइएको ब्युरोले जनाएको छ । तर, नेपालमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नहुँदा यो विषयलाई सम्बोधन गर्न भने समस्या भइरहेको गृह मन्त्रालयले जनाएको छ । मानव तस्करी गर्नेलाई दण्ड सजाय र पीडितलाई कानुनी उपचारबारे कानुनी व्यवस्था नहुँदा समस्या हुने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सजिलै तस्करीले झुक्याएर रोजगारीको लोभ देखाएर मानव तस्करी गरिरहेका छन् । एउटा कुनामा बसेर अर्को कुनाबाट सामाजिक सञ्जालको सहयोगमा रोजगारीको प्रलोभन देखाएर मानव तस्करी भइरहेको उहाँले बताउनुभयो । ‘वैदेशिक रोजगारीको प्रलोभनमा परी फसेका व्यक्ति शिक्षित र वैदेशिक रोजगारीमै गएर फर्किएका धेरै छन् । यसरी फसेका व्यक्तिसँग एजेण्टले अमेरिका पठाइदिने भन्दै ३० लाख रुपैयाँभन्दा बढी ठगी परेको पाइन्छ ।’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका युवासँग ठग्ने व्यक्तिका बारेमा जानकारी हुँदैन । जसका कारण पनि अनुसन्धान गर्ने समस्या भइरहेको छ । यो समस्या देखिएको छ ।’

ब्युरोले गरेको अनुसन्धानबाट नेपाल हुँदै अमेरिकासम्म हुने मानव तस्करको रुट उस्तै प्रकृतिको हुने गरेको पाइएको छ । मानव बेचबिखन भारतमा हुनेगरे पनि वैदेशिक रोजगारीका नाममा अहिले ठूलो गिरोहले चलखेल गर्ने गरेको ब्युरोले जनाएको छ । नेपालबाट दुबई-मस्को-इटाली-बोलेभिया-पेरु-फिलिपिन्स-कोलम्बिया-पानामा-कोयटारिका-होन्डुरस-ग्वाटेमाला-मेक्सिको हुँदै अमेरिकासम्म मानव तस्कर हुने गरेको पाइएको ब्युरोले जनाएको छ ।

बाटोमै ज्यान जान्छ
अमेरिकी सपना पछ्याउँदै एजेण्टको भरमा लाखौँ रुपैयाँ खर्च गरेर कोलम्बियाबाट पानामा जाने क्रममा वर्ष २०७९ कात्तिक २५ गते क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी रुकुम पश्चिमका दुईजना र प्युठानको एकजना गरी तीन नेपाली युवा सागरमा बेपत्ता भएका थिए । उनीहरू एजेण्टमार्फत विभिन्न देश हुँदै वैदेशिक रोजगारीमा अमेरिका छिर्ने क्रममा ज्यान गुमाएका थिए । यस्तै, दुई वर्षअघि २०७८ साल असार पाँच गते क्यारेबियन सागरमा डुंगा पल्टिँदा अमेरिका हिँडेका सात नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेमा दाङका दुईजना, बाँकेका एकजना, पर्वतका दुईजना, स्याङ्जाका एकजना र नाम थर नखुलेका अर्का एक नेपाली थिए । मृतक नेपालीहरू पनि एजेण्टमार्फत रोजगारीको खोजीमा अमेरिका जाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, २०७९ पुसमा अवैध तरिकाले अमेरिका जान लागेका रुकुम पश्चिमकै अर्का एक युवाको पानामाको जंगलभित्र रहेको एक खोला किनारमा शव भेटियो । उनी पनि रोजगारीको खोजीमा अमेरिका जाने क्रममा बाटो ज्यान गुमाएको खुलेको ब्युरो प्रहरीले जनाएको छ । पछिल्ला केही वर्षयता अमेरिका जाने आसमा कैयौँ युवा जंगलमै अलपत्र परेका छन् । भने, कतिपय अमेरिका हिँडेकाहरूको अवस्था कस्तो छ भनेर सरकार त परको कुरा स्वयम परिवारसमेत अनभिज्ञ छ । प्रहरी रिपोर्टमा अमेरिकी सपना पछ्याउँदै युरोप र अमेरिका पुग्नेमा धेरैजसो रुकुम पश्चिम र दाङका युवा छन् । एजेण्टमार्फत अमेरिका हिँडेका नेपाली युवाले एजेण्ट अथवा दलाललाई कम्तीमा ३० लाख रुपैयाँसम्म तिरेको उजुरी लिएर स्वयं पीडित नै आउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालको कानुनले मानव बेचबिखनलाई परिभाषित गरेको छ । तर, अहिले भइरहेको मानव तस्करीलाई सम्बोधन गर्ने कानुन नभएको रोजगारविज्ञहरूको आरोप छ । नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ छ । तर पछिल्लो समय जसरी वैदेशिक रोजगारीको नाममा मानव ओसारपसार भइरहेको छ । त्यो कानुन संशोधन गरी कडा बनाउनुपर्ने उहाँको माग छ । मानव तस्करीमा पीडित त्यसबारेमा जानकार हुन्छन् यदि प्रलोभनमा परिएको छ, झुक्याइएको छ भने त्यसलाई मानव बेचबिखनका रूपमा हेर्न सकिन्छ । तर, रोजगारीका नाम भइरहेको मानव तस्करीलाई छुट्टै कानुन बनाएर दोषीमाथि कारबाही हुनुपर्ने यो क्षेत्रका विज्ञहरूले माग राख्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?