अनुदान ब्याज वितरणबाट गुल्मीमा ७ सय ८३ व्यवसायिक कृषक स्वरोजगार

हिमालय टाइम्स
Read Time = 5 mins

- रमेश विश्वकर्मा
गुल्मी । गुल्मी सत्यवती गाउँपालिकाकी मोति पुलामी अहिले व्यवसायिक बंगुर पालनमा व्यस्त हुनुहुन्छ । व्यवसायिक बंगुर पालनबाट अहिले उहाँको पाँच जनाको परिवारको लालनपालन हुँदै आएको छ । ०७३ असार महिनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा वितरण गरिएको रु.२ लाख ब्याज अनुदान प्राप्त गरी व्यवसायिक बंगुर सुरु गर्नुभएकी पुलामी अहिले स्वरोजगार बन्नुभएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा मैत्री बहुउद्धेश्य सहकारी संस्था लि.को आयोजनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रममा उहाँले ब्याज अनुदानबाट प्राप्त भएको रकमले आफुलाई व्यवसायिक र स्वरोजगार बन्न सहयोग पुर्‍याएको बताउनुभयो । उहाँ मात्र होइन यसरी ब्याज अनुदान प्राप्त गरी यस जिल्लाका ७ सय ८३ जना कृषकहरु स्वरोजगार भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा यस जिल्लाका १ सय ९ जना व्यवसायीक कृषकहरुलाई ६० प्रतिशत अनुदानमा ब्याज वितरण गरिएको जिल्ला कर्जा असुली सहजकर्ता जीवन ज्ञवालीले जानकारी दिनुभयो ।

यस जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट १२ करोड ४५ लाख रुपैयाँ सम्झौता गरिएको छ । सम्झौता गरिएको रकममध्ये हालसम्म ९ करोड ६२ लाख लगानी गरिएको ज्ञवालीले बताउनुभयो । यस जिल्लाका तीनवटा सहकारी मार्फत १ सय ९ जना व्यवसायीक कृषकहरुलाई अनुदानमा व्याज वितरण गरिएको हो ।

जसमा मैत्री बहुउद्धेश्य सहकारी संस्था लि.का ३७ जना व्यवसायी कृषकहरुलाई ७ लाख २३ हजार ७ सय ४ रुपैयाँ ६७ पैसा ब्याज अनुदान वितरण गरिएको छ । भने अमरकल्याण महिला विकास बहुउद्धेश्य सहकारी संस्थामा आबद्ध ३४ जना व्यवसायीक कृषकहरुलाई ४ लाख ५४ हजार ७८ रुपैयाँ ५० पैसा ब्याज अनुदान वितरण गरिएको छ । त्यस्तै, नवदुर्गा कृषि सहकारी संस्थामा आबद्ध ३८ जना व्यवसायीक कृषकहरुलाई ३ लाख ४७ हजार ४ सय ३० रुपैयाँ ९९ पैसा ब्याज अनुदान वितरण गरिएको छ । यसरी तीन वटा सहकारी संस्थालाई १५ लाख २५ हजार २ सय १४ रुपैयाँ १६ पैसाँ ब्याज अनुदान वितरण गरिएको हो ।

जिल्लामा लगानी गरिएका १५ सहकारीमध्ये ०७८ चैत्र मसान्तसम्म १४ वटा सहकारीले शतप्रतिशत ब्याज असुल गरेका छन् , भने मालिका गाउँपालिकामा रहेकोे मधुवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ८० प्रतिशत साँवा ब्याज असुल गरेको र २० प्रतिशत असुल गर्न बाँकी रहेको ज्ञवालीले बताउनुभयो ।

मैत्री बहुउद्धेश्य सहकारी संस्था लि.का कार्यकारी प्रमुख अर्जुन आचार्यले सरकारले पनि ब्याज अनुदानमा सहयोग गरेकाले कृषकहरुलाई ब्याज अनुदान तिर्न सजिलो हुने बताउनुभयो । यसरी ब्याज अनुदान लिंदा कृषकहरुलाई समेत सुरक्षित हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पछिल्लो समय सरकारले पनि उद्यमीहरुलाई सहयोग पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले ब्याज अनुदानबाट कृषकहरुलाई व्यवसायिक रुपमा फड्को मार्न मदत पुर्‍याउने बताउनुभयो ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय सरकारले पनि कृषि उद्यमीहरुलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘उद्यमी सिर्जना गर्न सके रोजगारीका अवसरहरु खुल्छन् । यसबाट समुन्नत र समृद्ध बन्न सकिन्छ ।’ उहाँले नीति तथा कार्यक्रममा पनि कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकता राखेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?