दाङ । दाङको बंगलाचुली गाउँपालिकाको सिमेन्ट उद्योगको खानीमा उत्खनन बन्द हुँदा कामदारहरू मारमा परेका छन् । खानी क्षेत्रमा काम गर्दै आउनुभएका बंगलाचुली गाउँपालिकाका भोजराज पन्तले गाउँपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि खानी उत्खनन बन्द भएपछि आफूहरू बेरोजगार भएको दुःखेसो गर्नुभयो । ‘अहिले हामी बेरोजगार भएर बस्नु परेको छ’ उहाँले भन्नुभयो । गाउँपालिकामा यसका बारेमा पटक पटक जानकारी गराउँदासमेत आफूहरूको मागको सुनुवाइ हुन सकेको छैन ।’ उद्योग र गाउँपालिकाले सहमति गरेर सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
खानी क्षेत्रमा आफूसँगै ६५ देखि ७० जनाले काम गर्दै आएको उहाँले बताउनुभयो । प्रत्यक्ष रूपमा खानीमा काम गर्ने यहीँ भए पनि अपत्यक्ष रूपमा धेरै रहेको उहाँले बताउनुभयो । ‘पहिले स्वीकृति नदिनुपर्ने हो दिइसकेपछि दुवै पक्षले सहमति गरेर सञ्चालनमा ल्याउनु पर्दछ’ पन्तले भन्नुभयोे । खानी सञ्चालन हुँदा दैनिक दुई सयदेखि २५० सम्म टिप्पर सञ्चालन हुने गरेको उहाँको भनाइ छ ।
बंगलाचुलीकै खानीमा काम गर्दै आउनुभएका यज्ञबहादुर थापाले पनि खानी बन्द हुँदा धेरै समस्या भएको बताउनुभयो । ‘काम गरेर खानेहरूको घरमा चुलो बल्नसमेत समस्या भएको छ’ थापाले भन्नुभयो । आज खुल्ला भोलि खुल्ला भन्दाभन्दै एक वर्ष बित्न थालेको उहाँले बताउनुभयो । खानीमा काम गर्नेहरू अहिले रोजगारीका लागि भारत गएको उहाँको भनाइ छ । ‘काम गर्ने खानी बन्द भएपछि के गर्नु बाध्य भएर भारत जानु परेको छ’ थापाले बताउनुभयोे ।
दाङको घोराही सिमेन्ट उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरेको छ । उद्योगले आफ्नो कच्चा पदार्थ चुन ढुंगा उत्खनन स्थलबाट उद्योगसम्म ल्याउन नपाउँदा उत्पादनमा कटौती गरेको उद्योगले जनाएको छ । उद्योगले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको घोराही सिमेन्ट उद्योगका जनसम्पर्क म्यानेजर अमर सुवेदीले जानकारी दिनुभयो । ‘हामीले कच्चा पदार्थ ल्याउन नपाउँदा उत्पादन घटाएका छौँ’ सम्पर्क म्यानेजर सुवेदीले भन्नुभयोे । कच्चा पदार्थ ल्याउन नपाउँदा उद्योग सञ्चालनका लागिसमेत समस्या भएको छ । उद्योगको अवस्था दयनीय बन्दै गएको उहाँ बताउनुहुन्छ । उद्योगको खानी बंगलाचुली गाउँपालिका तापामा रहेको छ । बंगलाचुली गाउँपालिकाले गत वर्षको पुष १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाएको छ । गत वर्ष लगाइएको रोक हालसम्म पनि खोलिएको छैन ।
गाउँपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि खानी क्षेत्रमा उत्खननको कामसमेत रोकिएको छ । अहिले चुन ढुंगा उत्खनन हुन नसक्दा उद्योग तथा खानीमा काम गर्नेहरूको समेत रोजगार गुमेको छ । उद्योगमा करिब एक हजार र खानी क्षेत्रमा करिब ७० जनाले अहिले रोजगारी गुमाएका छन् । ‘हामीले कामदारहरूलाई बाध्य भएर घर वस्नुस् भन्नु परेको छ’ उहाँले भन्नुभयो । यसको असर धेरै क्षेत्रमा देखिएको उहाँले बताउनुभयो ।
उद्योगको दैनिक पाँच हजार टन क्लिङ्कर र ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सुवेदीले बताउनुभयो । उद्योगमा करिब ३२ अर्बको लगानी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच