राष्ट्रपति निर्वाचन : ‘भोट क्रस’ गराउने र रोक्ने प्रयासमा दुई उम्मेदवार

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारहरू आफूलाई भोट माग्न व्यस्त छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङ आफ्नो पक्षमा मत तान्न तल्लीन छन् । पौडेल आठ दलको समर्थनमा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएको हो भने नेम्वाङ नेकपा (एमाले)का उम्मेदवार हुनुहुन्छ । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ ।

संघीय र प्रदेशसभाका सांसदहरू मतदाता हुने निर्वाचनमा दलीय अंक गणितमा पौडेल बलियो देखिनुभएको छ । उहाँ आठ दलबाट प्राप्त हुने सम्भावित मत जोगाउन दौडाहमा हुनुहुन्छ । सम्भावित ‘क्रस भोटिङ’लाई मध्यनजर गर्दै आठ दलीय गठबन्धनले प्रदेशदेखि संघीय सांसदसम्मलाई अभिमुखीकरण गरिरहेको छ । विभिन्न प्रलोभनमा एमालेले क्रस भोटिङ गराउन सक्ने भय पौडेललाई छ । यसका लागि आठै दलका शीर्ष नेता नै मत बचाउने अभियानमा लागेका छन् ।

उनीहरूले बुधबार सातै प्रदेशमा सांसदहरूलाई अभिमुखीकरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूले बिहीबार काठमाडौंमा सांसदहरूलाई प्रशिक्षण दिएका थिए । उसो त आठ दलीय गठबन्धनका उम्मेदवार पौडलेलले पनि विभिन्न पार्टीका कार्यालय पुगेर मत मागिरहनु भएको छ । बिहीबार आठ दलीय गठबन्धनका सांसदलाई पत्र लेखेर मत माग्नुभएका पौडेलले शुक्रबार आफूलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसँग आग्रह गर्नुभएको छ । रास्वपा कार्यालय पुगेर पौडेलले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभयो । रास्वपाले भने केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने जवाफ दिँदै आएको छ ।

गोप्य मतदान हुने भएकाले आठ दलीय गठबन्धनबाट क्रस भोट तान्ने एमालेको प्रयास छ । एमाले उम्मेदवार नेम्वाङ पार्टीको टोली नै लिएर विभिन्न पार्टी कार्यालय धाइरहनु भएको छ । नेम्वाङले विभिन्न दलको कार्यालयमै पुगेर मत मागिरहनु भएको छ । एमाले अध्यक्ष केपी ओलीले संस्थागत रूपमै पत्राचार गरिसकेपछि नेम्वाङले भेटेरै मत मागिरहनु भएको छ । आठ दलीय गठबन्धनबाट ‘क्रस भोटिङ’ गराउने एमालेको रणनीति छ । बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाको कार्यालयमा पुगेर भोट माग्नुभएका नेम्वाङले शुक्रबार पनि भेटघाटलाई तीव्रता दिनुभयो ।

आफूलाई मतदान गर्न जनमत पार्टीसँग एमालेको आग्रह
अध्यक्ष राउतको जवाफ : पार्टीभित्र छलफल गरेर निर्णय गर्छौं
राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । शुक्रबार पार्टीका नेताहरूसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन आग्रह गर्नुभएको हो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार राउतले राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरूको सद्भाव र शुभकामना रहेको बताउनुभएको थियो । राउतले जनमत पार्टीलाई मूलधारमा ल्याउन पनि महŒवपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंसा गर्नुभएको उहाँले बताउनुभयो । जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरूले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने बताउनुभयो । नेम्वाङले मत माग्नुभएको र आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उहाँले बताउनुभयो ।

महन्थसँग नेम्वाङको भेट : सहयोग गर्न आग्रह
रामचन्द्रजीको प्रस्तावक भएकाले सघाउन सक्दैनौँ : महतो
नेम्वाङसहितको टोलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार नेकपा एमालेको प्रतिनिधि मण्डलले लोसपाका अध्यक्ष ठाकुरसँग भेट गरेको हो । एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिनुभएका नेम्वाङलाई सहयोग गर्न लोसपा सकारात्मक रहेको बताउनुभयो ।

लोसपा नेता राजेन्द्र महतोले भने राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सघाउन तत्काललाई सम्भव नभएको बताउनुभयो । दुवै उम्मेदवार बराबर भए पनि रामचन्द्र पौडेलको पक्षमा आफ्नो पार्टी रहेको उहाँले बताउनुभयो । ‘उहाँहरूले राष्ट्रपतिमा सहयोग गर्नुप¥यो भनेर आग्रह गर्नुभयो । हामीले उहाँलाई शुभकामना दियौँ,’ महतोेले भन्नुभयो, ‘हामी अहिले आठ दलीय गठबन्धनमा छौँ । पौडेलजीको प्रस्तावक रहेकाले सहयोग गर्न सकिने अवस्था छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?