विप्लव कालीकोटको निर्णय संघ र प्रदेश दुवै निर्वाचन खारेज गर्ने

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी कालीकोटले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशतहको कथित संसदीय चुनाब सशक्त खारेज गर्ने निर्णय गरेको छ । नेकपाले यो चुनावले देश र जनताको समस्या समाधान गर्ने नभई अपराध र अपराधिलाई वैद्यता दिन भइरहेकाले खारेज गर्न आव्हान गरेको छ ।

नेकपा कालीकोटका जिल्ला इन्चार्ज विराट सी र सेक्रेटरी शाहसी सीले आईतवार एक प्रेश विज्ञप्ति जारी गरी कार्तिक १४ र १५ गते बसेको जिल्ला समितिको चौथो पूर्ण वैठकले यस्तो निर्णय गरेको जानकारी दिनु भएको छ ।

जारी विज्ञप्तिमा नेकपाले कथित संघ र प्रदेशको निर्वाचनले देश बेचुवा, भ्रष्टाचारी, कमिशनखोरी, लुटेरा,दलाल राजनीति, नाफावादी जमिनदार व्यक्ति चुन्ने भएकाले सशक्त खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

नेकपाले तत्काल देशको वैज्ञानिक निकास भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु भएको भन्दै चुनाव खारेजको अभियानमा सवै कालीकोटे जनता लाग्न पनि अपिल गरेको छ ।

नेकपाको बैठकले चुनाव खारेजीको निर्णय संगै जिल्लामा आन्तरिक प्रशिक्षण संचालन गर्ने,बाढी पहिरो पीडितलाई भेटघाट गर्ने, राहत दिने, क्षतिको विवरण संकलन गर्ने, जनवर्गीय संगठनलाई सुदृढ र विस्तार गर्ने, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, नवौं महाधिवेशनले गरेका निर्णय कार्यान्वय गर्ने, महाधिवेशनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सवैलाई धन्यवाद दिने लगायतका निर्णय पनि गरेको जनाएको छ ।

वैठक जिल्ला सेक्रेटरी शाहासीको अध्यक्षता र स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यतामा बसेको थियो । वैठकमा केन्द्रीय सदस्य विराट सी, रणदिप सी लगायतका अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

स्मरणरहोस्ः नेकपाले आन्तरिक पार्टी प्रशिक्षण र बाढी पहिरो पीडित परिवारलाई राहत दिने निर्णय भने कार्यान्वयन गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?