प्रतिगमनकारी प्रचण्डजीहरु नै हो : मोहन वैद्य

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताउनुभएको छ ।

बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उहाँले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताउनुभएको हो ।

उहाँले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘यो सत्ताका बिरुद्ध, संसदीय व्यवस्थाका बिरुद्ध र यी दलहरुले जुन विचारधारका कुरा गर्छन्, त्यसका बिरुद्ध संघर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । त्यसकारणले अर्को कुरा के हो भने अब हामीले नयाँ क्रान्तिको तयारी गर्नुपर्छ । तर नयाँ क्रान्तिको तयारी गर्नको निम्ति सत्ता क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध भएर जान जरुरी छ । संगठनलाई बलियो बनाउने, क्रान्तिकारीहरु एकतावद्ध हुने, यो पुरानो संसदीय व्यवस्थाका बिरुद्ध र नयाँ जनवादी, वैज्ञानिक समाजवादी संसदीय व्यवस्थाको स्थापनाको निम्ति दृढतापूर्वक अगाडी बढ्न जरुरी छ । र हाम्रो यो बहिस्कार आन्दोलन, हाम्रो यो अवज्ञा आन्दोलन त्यही दिशामा एउटा महत्वपूर्ण कदम हो । हाम्रो यो वहिष्कारको गन्तव्य के हो भन्दाखेरी नयाँ क्रान्तिको तयारीको विषयमा अगाडी बढ्ने हो ।’

महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताउनु भयो । शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भएपनि तिन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो,  ‘तीनवटै अंग असफल भइसकेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा झगडै झगडा । शक्ति पृथकीकरणको सिद्धान्त भनेर संसदीय व्यवस्थामा भनियो तर के भने शक्ति संघर्षको सिद्धान्त हो । आपसमा लडेको छ लडेको छ । गर्नु केही होइन । त्यसकारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सब असफल छ ।’

उहाँले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताउनु भयो । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गर्नुभयो । उहाँले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोख्नुभयो । उहाँले दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताउनु भयो । उहाँले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो भनि प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘ठाउँ ठाउँ पूरै दमन गरिराखेको छ । यो कारण के हो ? निर्वाचन आयोग के हो ? त्यसको आचारसंहीता के हो ? निर्वाचन आयोग को हो ? आचारसंहीता हामीलाई किन लाग्ने ? हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहीता ? भन्छन् लोकतन्त्र , शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’
त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले स्वाधिन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताउनु भयो । देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्नसकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले संसदीय चुनाव होइन, स्वाधिन संयुक्त सरकार निर्माण गरौँ । तपाईहरुको संसदीय चुनाव खारेज गर्नुस् । स्वाधिन स्वयुक्त सरकार निर्माण गरौँ । नेपालका सबै राजनीतिक पार्टीहरु, सबै क्रान्तिकारी पार्टीहरु एक ठाउँमा भएर स्वाधिन संयुक्त सरकार निर्माण गरौँ । संसदीय प्रणालीको अन्त्य गरौँ । राजनीतिक स्थिरताको बाटो समातौँ । सामाजिक रुपान्तरणको बाटो समातौँ । शान्ति, समृद्धि र स्वाधिनता सुनिश्चित गर्ने बाटो समातौँ । त्यसपछि चुनाव गरौँला । देशको राजनीतिक मुद्दा समाधान भएपछि चुनाव गरौँला ।’
उहाँले मंसिर ४ गते हुने निर्वाचनलाई अवज्ञा गर्न जनतालाई अपील गर्नुभयो । मतपेटिका खालि पठाउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सरकार र व्यवस्था नमान्न पनि उहाँले जनतालाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?