बार्सिलोनाको पुनरागमन जित

Read Time = 4 mins

बार्सिलोना । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि रोमाञ्चक पुनरागमन जित हात पारेको छ । बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १-० ले पछि परेको स्थिति उल्ट्याएर २-१ को पुनरागमन जित हासिल गरेको हो ।

बार्सिलोनाको पुनरागमन जितमा पेड्री र राफिन्हाले गोल गर्नुभयो । घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो । छैटौँ मिनेटमा गार्सियाको गोलबाट बार्सिलोना पछि परेको थियो । ३१औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो ।

४८औँ मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५०औँ मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाउनुभएको हो ।

यस रोमाञ्चक पुनरागमन जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई पाँच अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ । पराजित ओसासुना २३ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

यता, इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । मिलानले क्रेमोनिससँग गोलरहित बराबरी खेलेको हो । खेलमा मिलानका डिभोक ओरिगीले ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । तर, भिएआरले उहाँको गोललाई अफसाइड दिएको थियो । यस बराबरीसँगै मिलानले १४ खेलमा ३० अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ । क्रेमोनिस सात अंक जोडेर १८औँ स्थानमा रहेको छ ।
अर्को खेलमा एभर्टन काराबाओ कपको तेस्रो चरणबाट बाहिरिएको छ । बर्नेमाउथसँग ४-१ ले पराजित हुँदै एभर्टन बाहिरिएको हो ।

बर्नेमाउथको जितमा जमल लोवे, जुनियर स्टानलास, इमिलियानो मार्कोन्डेस र जयडोन एन्थोनीले गोल गर्नुभयो । एभर्टनका डेमाराई ग्रेले एक गोल फर्काउनुभयो ।

यस जितसँगै बर्नेमाउथले राउण्ड अफ १६ मा स्थान बनाएको छ । अर्को खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३-० ले हराएको छ । लेस्टरको जितमा जेमी भार्डीले दुई गोल गर्नुभयो । जस्टिनले एक गोल थप्नुभयो । लेस्टर राउण्ड अफ १६ मा प्रवेश गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?