गुल्मी क्षेत्र नं. १ ‘क’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार सुदर्शन बराल २०७४ सालको प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । लुम्बिनी प्रदेशको सामाजिक विकासमन्त्रीसमेत हुनुभएका बराल यस क्षेत्रको लोकप्रिय युवा नेता हुनुहुन्छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षसमेत रहनुभएका बरालले यसपटक पनि गुल्मी १ (क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । बराल सत्ता गठबन्धनको बलियो शक्ति रहेको यस क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ ।
उहाँ अहिले अघिल्लो कार्यकालमा आफूले सुरु गरेका काम पूरा गर्न, जिल्लालाई आर्थिक, सामाजिक र विकासको दृष्टिले नमुना बनाउने उद्देश्यका साथ आफ्ना एजेण्डा लिएर मतदातासामु गइरहनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भण्डारीसहित बराल जनताको घर-घरमा मत माग्दै हिँड्नुभएको छ । उक्त क्षेत्रमा एमालेले भने त्यस क्षेत्रमा चिन्तामणि पाण्डेलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा कुल मतदाता संख्या एक लाख २९ हजार २८८ रहेका छन् । १ (ख) मा ७१ हजार ७०९ मतदाता रहेका छन् । उनै सुदर्शन बरालसँग उहाँको चुनावी एजेण्डा र चुनाव जित्ने आधारका विषयमा केन्द्रित रहेर रूपन्देही संवाददाता चन्द्रकान्त खनालले गर्नुभएको कुराकानी ।
निर्वाचनको दिन नजिकिँदै गएको छ । तपाईं जनतासँग के-के एजेण्डा लिएर जानुभएको छ ?
राजनीतिक स्थिरता र राजनीतिक स्थिरतामार्फत् मुलुकको आर्थिक समृद्धि, सामाजिक रूपान्तरण पहिलो एजेण्डा हो र निर्वाचन क्षेत्रको हिसाबले थुप्रै कामहरू भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनका कामहरू अगाडि बढेका छन् । कयौं पूरा भएका छन्, कयौं निर्माणाधीन अवस्थामा छन् । यी थुप्रै कामहरूलाई पूर्णता दिनका लागि र केही नयाँ सम्भावना छन्, ती सम्भावनालाई वास्तविकतामा बदल्ने यो निर्वाचनमा मेरो एजेण्डाका रूपमा रहेको छ ।
तपाईं संघीय सांसद र लुम्बिनी प्रदेशको मन्त्री बन्नुभयो । तपाईं पदमा हुँदा के-के काम गर्नुभयो ?
संघीय सांसद रहँदा सामान्य मेरो निर्वाचन क्षेत्रको विकासका कामहरू अगाडि बढाएको थिएँ र प्रदेश सरकारको मन्त्री भएर मलाई तीन वर्ष काम गर्ने अवसर प्राप्त भयो र समग्र प्रदेशकै शिक्षा, स्वास्थ्य, रोजगारी, महिला, अपांग, वृद्ध सबैको पक्षमा प्रदेशका १२ वटै जिल्ला ५२ निर्वाचन क्षेत्र र १०९ स्थानीय निकायमा न्यायोचित समानुपातिक वितरण प्रणाली गर्ने प्रकारका नीतिहरू, कानुनहरू निर्माण गर्ने र प्रदेशको विकासका लागि नीति रणनीति तयार गर्दै प्रदेशको २० वर्षे रणनीतिक योजना पनि पास गरेँ । मुख्यतया मेरो मन्त्रालयबाट आधारभूत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, सडक बालबालिका, सडक मानवहरू, अपांगहरूको पक्षमा बजेट प्रवाह गर्ने, युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने, उनीहरूलाई काम गर्ने वातावरण सिर्जना गर्ने र सँगसँगै मेरो निर्वाचन क्षेत्रलाई जोडेर यहाँका विकासका कामहरू मैले गरेँ ।
अर्काे मुख्यतया कोभिड महामारी मेरो कार्यकालमा सुरु भयो, त्यसको व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरूमा, अस्पतालहरूमा एम्बुलेन्स, स्वास्थ्यकर्मीहरूको व्यवस्थालगायतका कामहरू मुख्यरूपमा गरेँ भन्ने मेरो निष्कर्ष छ ।
तपाईं लगायत पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने आधार के हो ? तपाईं हरूले जनतामाझ गरेका प्रतिबद्वताहरू के-के हुन् ?
पहिलो कुरा त गठबन्धनको जुन मत रहेको छ, त्यो हाम्रो आधार हो र हाम्रो गठबन्धन एकताबद्ध भएर गाउँटोलसम्म पुगेको छ । यो प्रतिगमनलाई परास्त गर्न सबैै दृढ प्रतिबद्ध हुनुहुन्छ र दोस्रोे कुरा मैले यसअगाडि मेरो कार्यकालमा भए, गरेका कामहरूबाट विपक्षी राजनीतिक पार्टीका नेता, कार्यकर्ता र मतदाताले समेत प्रशंसा गर्नुभएको छ । यस कारण निर्वाचनमा लड्नुपर्छ भनेर यहाँका जनताले भनिरहनुभएको छ, त्यो नै मेरो जित्ने आधार हो ।
मतदाताका लागि के-के काम गर्नुहुन्छ ? सामाजिक विकासमन्त्री हुनुभयो, के गर्नुभयो ? अब के छन् क्षेत्रको विकासका लागि तपाईंका योजना ? औद्योगिक क्षेत्रको समस्या समाधानका लागि तपाईंको ठोस योजना के छ ?
पहिलो कुरा त सामाजिक विकासमन्त्री हुँदा गरेका कामहरूको प्रचार गर्नु पनि हो । धेरै कामहरू सुरु भएको छ । ती कामहरू पूर्ण भएका छैनन् । त्यस कारणले नीतिगत तहमा, कार्यक्रमको तहमा, बजेटको तहमा धेरै कामहरू अगाडि बढेका छन् । त्यसलाई पूर्णता दिनका लागि हामीले प्रचारप्रसार गर्नुपर्नेछ भने नयाँ कामहरूका बारेमा आमजनताले सुझाव दिनुभएको छ । मैले आफूले पनि केही योजना तयार गरेको छु र गुल्मी जिल्लालाई औद्योगिक क्षेत्रमा लैजानका लागि कृषिजन्य उद्योगहरू निर्माण गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् । यसलाई मध्यनजर गर्दै हामीले नयाँ सरकार निर्माण भएपछि तुरुन्तै कार्यान्वयनमा लैजानेछौँ ।
मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ, उद्योग, कलकारखाना बन्द हुँदै गएका छन् । उद्योगी व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा पुगेका छन्, यस्तो अवस्थामा तपाईं कसरी मतदातामाझ पुग्नुहुन्छ ?
पहिलो कुरा त कोभिड महामारीको कारणले संसारभरि एक प्रकारको आर्थिक संकट देखापरेको छ र त्यसको चपेटामा नेपालसहित धेरै मुलुकहरू परेका छन् र प्राविधिकरूपमा त्यसले हामीलाई पनि असर पारेको छ । सँगसँगै पहिलो चरणमा रुस र युक्रेनको बीचमा भएको युद्ध र तनावका कारणले पैदा भएका केही संकटहरू छन् । त्यसको बीचबाट हाम्रो मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि केही नीतिगत ठोस कदमहरू अगाडि बढाउनुपर्नेछ । केही वैदेशिक लगानीहरूलाई भित्र्याउनुपर्नेछ, त्यसलाई सुनिश्चित गर्नुपर्नेछ । बिस्तारै अर्थतन्त्र चलायमान हुने दिशामा छ । त्यसलाई एउटा ठोस कार्यक्रमसहित अगाडि बढाउन सकिन्छ र त्यसका लागि निर्वाचनलगत्तै नीतिगत निर्णयहरूसहित अगाडि बढ्ने कुरा मैले मतदाताहरूलाई बताएको छु ।
तपाईं नेकपा एमालेका धनाढ्य नेतासँग चुनावी मैदानमा होमिनुभएको छ । चुनाव लड्न कत्तिको सहज महसुस गर्नुभएको छ ?
अहिले हाम्रो एक्काइसौँ शताब्दीका नेपाली जनता र हाम्रो निर्वाचन क्षेत्रका जनसमुदाय मतदाता हुनुहुन्छ । निकै शिक्षित र सचेत हुनुहुन्छ । कोही धनाढ्य व्यक्तिले पैसा बाँड्दैमा धन सम्पत्तिको लोभमा विवेक बन्धक राख्नुहुन्न । पटक-पटक यो निर्वाचन क्षेत्रका जनताले आफूलाई प्रमाणित गर्नुभएको छ । स्थानीय तकको निर्वाचनमा पनि प्रमाणित गर्नुभएको छ । त्यसकारणले कसैको पैसाको बलमा विवेक किन्न खोजेको दुष्साहसलाई मैले ठूलो रूपमा लिएको छैन । आमजनसमुदायको भरोसा छ, विश्वास छ, त्यो विश्वासलाई टेकेर अगाडि बढेको छु र विजय निश्चित छ ।
प्रदेशको राजधानी दाङ सार्न तपाईंहरूको पनि भूमिका राम्रो रहृयो भन्ने छ । यसमा अहिले तपाईंको भनाइ के छ ?
मैले यसभन्दा अगाडि पनि र अहिले गठबन्धनको सरकारलाई पनि सुझाव दिएको छु दाङको भालुवाडमा पर्याप्तमात्रामा पूर्वाधार नहुँदासम्म हामीले एकाध मन्त्रालयहरू, एकाध कार्यालयहरू सारेर काम कारबाहीलाई सही ढंगले लैजान सकिँदैन त्यसो भएको हुनाले सम्पूर्ण पूर्वाधारहरू तयार गरिसकेपछि मात्र राजधानी सार्नुपर्दछ । अन्यथा दोहोरो खर्च हुने स्थिति सिर्जना गर्नुहुँदैन र नयाँ जनादेश आएपछि हामी त्यो विषयमा छलफल गर्नेछौँ । पूर्वाधार सम्पन्न भएपछि बल्ल राजधानी सार्ने कुरा हुन्छ ।
तपाईं लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा छ, के भन्न चाहनुहुन्छ ?
यसभन्दा पहिले सामाजिक विकासमन्त्री हुँदा गरेको काम र पार्टीको प्रदेश कमिटीको अध्यक्ष भएको हिसाबले पनि त्यस प्रकारका अनुमान भएका छन् । मुख्यमन्त्रीको हैसियतमा योग्य छ भन्ने तर्कहरू आएका छन्, विश्वास प्रकट भएका छन् । पार्टीको निर्णयका आधारमा मुख्यमन्त्री तय हुनेछ । म मन्त्री हुँदा गरेका कामबाट जनसमुदाय, मतदाता, गठबन्धन दलका नेता र पार्टीले मलाई योग्य देखेको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच