आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा सह्य हुँदैन : आयोग

यज्ञराज पाण्डे
Read Time = 8 mins

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनप्रति शून्य सहनशिलता राख्ने बताएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुःस्साहस भएमा सैह्य नहुने बताउनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो । उहाँले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गर्नुभयो । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उहाँको चेतावनी थियो । उहाँ भन्नुहुन्छ, ‘जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढी हुन्छ त्यसैले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन दिनुहुन्न र सौहार्दता कायम गर्न युवाहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ ।’

मतदान केन्द्रहरू सकेसम्म अपांगतामैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको थपलियाले स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।’

यस्तै, आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । ‘आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,’ तुलाधारले भन्नुभयो, ‘आचारसंहिता सबैलाई समान रूपमा लागू हुन्छ ।’ आचारसंहिता उल्लंघनका विषयमा आयोग कडा रूपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पार्नुभयो । ‘आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गर्नुहोस्, प्रचारप्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्,’ उहाँले भन्नुभयो । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाउनुभयो ।

आयुक्त तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउँदै स्वच्छ तरिकाले निर्वाचन सम्पन्न गर्नुपर्ने जोड दिनुभएको हो । सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाइ थियो ।

आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गर्नुभयो । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्डबमोजिम तथ्यांक राख्न आग्रह गर्दै तुलाधारले भन्नुभयो, ‘यस विषयमा आयोगले सूक्ष्म रूपमा अध्ययन गरिरहेको छ ।’

घण्टी बजाएर चुनाव प्रचार नगर्न तोसिमालाई आयोगको निर्देशन
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । आयोगको आचारसंहिता अनुगमन समितिले तोसिमालाई फोनमार्फत यस्तो निर्देशन दिएको हो ।

तोसिमाको निर्वाचन क्षेत्र ललितपुर-३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोसिमालाई आयोगको आचारसंहिता अनुगमन समितिले चुनाव चिह्न घण्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिए पनि तोसिमाले अटेर गरेको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘डा. तोसिमाले आयोगको निर्देशन अटेर गर्नुभएको छ, यसबारे हामी छिट्टै आयोगलाई लिखित रूपमा जानकारी गराउँछौँ ।’

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी हो । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४, १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ । उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टिसर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ ।

आयोगले यसअघि कार्कीले लाभको पदमा रहेर उम्मेदवारी दिएको भनी खारेज गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो । अन्तरिम आदेशमार्फत उहाँको उम्मेदवारी कायम भएको थियो । सर्वोच्चको आदेशविरुद्ध निर्वाचन आयोगले भ्याकेट निवेदनसमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?