हुम्लामा चिसो बढ्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लामा चिसो बढ्दै गएको छ । दिउँसो न्यानो भए पनि बिहान बेलुका चिसो बढ्दै गएको हो । बुधबार रातिबाट जिल्लाको मौसममा फेरबदल आएसँगै बिहीबार बिहानबाट चिसो बढेको छ । उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको उच्च भेगमा हिमपातसमेत भएको छ । असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महसुस गर्न थालिएको छ भने उत्तरी चाला लगायतको क्षेत्रमा तापक्रम माइनसमा झरेको छ ।

जिल्लामा बिहीबार दिनभर घाम नलाग्दा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न थप समस्या भएको थियो । यो वर्ष झण्डै एक महिनादेखि विद्युत् नहुँदा चिसो समयमा कर्मचारीलाई काम गर्न चिसाले बढी सताउने भएको हो । हेल्दुम साना जलविद्युत् आयोजना विद्युत् मर्मत कार्य जारी रहेको छ ।

चिसो मौसम सुरु भएसँगै सदरमुकाममा बाक्लो कपडा किन्नेको भिड बढेको छ । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय प्रेम भण्डारीले बताउनुभयो । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताउनुभयो । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले बताउने गरेका छन् । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा एक हजारसम्म पर्ने गरेको छ । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?