पूर्वमाओवादी नेता एमालेबाट चुनावी मैदानमा, कतिपयको माओवादीसँगै टक्कर

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । निर्वाचनको मिति नजिकिँदा उम्मेदवारहरूको दौडधुप बढेको छ । मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न उम्मेदवारहरू दिलोज्यान दिएर लागेका छन् । २०७४ सालको निर्वाचनभन्दा यसपालि चुनावी माहोल निकै भिन्न छ । एकातिर राजनीतिक दलका उम्मेदवारसँगै ठाउँठाउँमा स्वतन्त्रहरूले पनि चुनौती दिइरहेका छन् । एक हिसाबले स्वतन्त्रहरूको राष्ट्रिय माहोल नै बनेको छ । अर्कोतिर गत चुनावमा सहयोगी बनेकाहरू अहिले प्रतिस्पर्धी छन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन थियो । नेकपा माओवादी र नेकपा एमालेका उम्मेदवारहरू एक-अर्काका सहयोगी थिए । त्यति मात्र होइन गत निर्वाचनमा एउटै पार्टीमा रहेकाहरू समेत यसपालि प्रतिस्पर्धी छन् । एमालेको विभाजनसँगै नेकपा (एकीकृत मसाजवादी)का उम्मेदवारहरू एमालेकै उम्मेदवारसँग मुख्य प्रतिस्पर्धा गर्दै छन् ।

समाजवादीका उम्मेदवार भएका ठाउँमा नेपाली कांग्रेस र माओवादीका उम्मेदवार नै छैनन् । अर्कोतिर गत निर्वाचनमा माओवादीबाट चुनाव लडेकाहरूसमेत अहिले एमालेबाट प्रतिस्पर्धा गर्दै छन् । खासगरी तत्कालीन नेकपा एकता खारेजपछि एमालेतिर लागेका पूर्व-माओवादी नेताहरू अहिले माओवादीकै उम्मेदवारसँग भिड्दै छन् । माओवादीबाट एमालेमा गएका नौ नेता विभिन्न क्षेत्रमा प्रत्यक्ष उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेशसभाका नौ क्षेत्रमा उनीहरू उम्मेदवार बनेका हुन् । अझै रोचक त के छ भने कतिपय क्षेत्रमा माओवादी उम्मेदवारसँगै उनीहरूको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कैलालीमा माओवादीसँगै पूर्व-माओवादीको भिडन्त
कैलालीमा माओवादी छोडेर एमालेमा गएका दुई नेता चुनावी मैदानमा छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा दुई पूर्वमाओवादी नेता एमालेबाट चुनावी मैदानमा होमिएका छन् । कैलाली-३ मा गौरीशैकर चौधरी र ४ मा लेखराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ । भट्टले कांग्रेसका वीरबहादुर बलाएर र नवगठित नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यता, कैलाली-३ मा भने गौरीशंकरले माओवादीकै उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहनु भएको छ । १० वर्षे सशस्त्र युद्धका सहयात्री कृष्ण चौधरी ‘कुन्दन उहाँका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । कुन्दनलाई कांग्रेसको समेत साथ छ । तत्कालीन सशस्त्र युद्धमा कुन्दन माओवादीको सांगठनिक र गौरीशंकर सैन्य मोर्चामा हुनुहुन्थ्यो । कैलालीसँगै कञ्चनपुर र अछाममा समेत पूर्व-माओवादी उम्मेदवार छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (१)मा वीरबहादुर थापा एमालेबाट उम्मेदवार हुनुहुन्छ । उहाँ गत निर्वाचनमा माओवादीबाट प्रदेशसभामा विजयी हुनुभएको थियो ।

त्यस्तै, अछाममा झपट बोहरा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । उहाँ गत निर्वाचनमा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेले भीम रावलको क्षेत्रमा बोहरालाई उम्मेदवार बनाएको छ । जुन निर्णयबाट रावल असन्तुष्ट हुनुहुन्छ । बोहराले नेकपा एसका शेरबहादुर कुँवरसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कुँवर गत निर्वाचनमा एमालेमा हुनुहुन्थ्यो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशको हुम्ला र दैलेखमा समेत पूर्व-माओवादी उम्मेदवार चुनावी मैदानमा छन् । हुम्लामा छक्कबहादुर लामा प्रदेशसभा सदस्यका उम्मेदवार हुनुुहुन्छ । गत निर्वाचनमा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका लामा पछि माओवादीमा प्रवेश गर्नुभएको थियो । यसपालि भने एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाको प्रदेशसभा (१)मा एमालेबाट प्रदेशसभामा उम्मेदवार हुनुहुन्छ । त्यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (१)मा एमालेबाट धर्मराज रेग्मी उम्मेदवार हुनुहुन्छ । उहाँ २०७४ सालको निर्वाचनमा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अर्घाखाँचीमा टोपबहादुर र भुसालको टक्कर, सिन्धुलीमा माओवादीसँग भिड्दै पूर्व-माओवादी उम्मेदवार
एक मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रबाट लगातार विजयी टोपबहादुर रायमाझी यसपालि एमालेबाट उम्मेदवार हुनुहुन्छ । अर्घाखाँचीमा मुख्यगरी एमाले र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतम चुनावी मैदानमा हुनुहुन्छ । भुसाललाई माओवादीको समेत साथ छ । गत निर्वाचनमा रायमाझीलाई जिताउन लागेका माओवादी कार्यकर्ता यसपालि भुसाललाई जिताउने अभियानमा छन् । यसअघि तीनपटक निर्वाचित रायमाझी यसपटक विरासत जोगाउने कसरतमा हुनुहुन्छ । त्यस्तै, सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा एमालेले मनोजजंग थापालाई उम्मेदवार बनाएको छ । पूर्व–माओवादी नेता थापाको मुख्य प्रतिस्पर्धा पनि माओवादी उम्मेदवारसँगै हुने देखिएको छ । सिन्धुली–२ मा माओवादी नेता राजन दाहाल चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसको समेत साथ छ ।

एमालेबाट प्रभुको विद्रोह, माओवादीकै साथ
मनोनय दर्ताको एक दिनअघिसम्म एमालेमा रहनुभएका प्रभु साहले अन्तिममा स्वतन्त्रबाट उम्मेदवारी दिनुभयो । जनता समाजवादी पार्टीसँग एमालेले गरेको गठबन्धनप्रति असन्तुष्ट साह अन्तिममा आएर रौतहट-३ मा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको हो । एमाले केही क्षेत्रमा जसपासँग तलमेल गरेको छ । उहाँ एक्लै होइन आफू र आफ्नो समूहका नेताहरूलाई समेत उहाँले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको टिकट अस्वीकार गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि उहाँलाई एमालेले पार्टीबाट निष्कासन गरेको छ ।

तत्कालीन नेकपा एकता खारेजपछि एमालेतिर लाग्नुभएका साहले चुनावको मुखमै एमालेबाट विद्रोह गर्नुभएको हो । उहाँलाई माओवादी केन्द्रले समर्थन गरेको छ । सत्ता गठबन्धनमा आबद्ध माओवादीको समेत साथ पाएसँगै साहलाई चुनावमा सहज हुने अनुमान छ । उहाँ पुनः माओवादीमै फर्किने चर्चासमेत हुने गरेको छ । माओवादी नेताहरू उहाँसँग सम्वादमा रहेको बताइन्छ । चुनावमा साहलाई सघाउने माओवादीको निर्णयले पनि उहाँ माओवादीमा फर्किनसक्ने संकेत गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?