म्यानचेस्टर युनाइटेड चौथो चरणमा

Read Time = 4 mins

लण्डन । एस्टन भिल्लामाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर युनाइटेड इएफएल कप (कारवाओ) कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले घरेलु मैदानमा भिल्लालाई चार-दुईले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियाल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनेले गोल गर्नुभयो । भिल्लाका ओले वाट्किन्सले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको ४८औं मिनेटमा ओले वाट्किन्सको गोलबाट युनाइटेड पछि परेको थियो । उहाँले ज्याकोव राम्सेको पासमा गोल गर्नुभएको थियो । ४९औं मिनेटमा एन्थोनी मार्सियालले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

६१औं मिनेटमा डिएगो डालोटले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा पुनः दुई-एकले पछि पर्‍यो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याउँदै युनाइटेडलाई खेलमा फर्काउनुभयो । ७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले एलेजान्द्रो गारनाचोको पासमा गोल गर्दै युनाइटेडलाई तीन-दुईको अग्रता दिलाउनुभयो । त्यसपछि इञ्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई चार-दुईको पुनरागमन जित दिलाउनुभयो ।

यता, रियल म्याड्रिडले क्याडिजलाई हराउँदै स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी छोट्याएको छ । घरेलु मैदानमा रियलले क्याडिजलाई दुई-एकले पराजित गर्दै बार्सिलोनासँगको अंक दूरी दुईमा छोट्याएको हो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र टोनी क्रुसले गोल गर्नुभयो । क्याडिजका पेरेजले एक गोल फर्काउनुभयो ।

खेलको ४०औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा एक-शुन्यको अग्रता दिलाउनुभयो । ७०औं मिनेटमा क्रुसले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो । ८०औं मिनेटमा रियल अर्काे गोल थप्नबाट चुक्यो । लगत्तै ८१औं मिनेटमा परिवर्तीत खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई दुई–एक को स्थितिमा ल्याउनुभयो ।

७२औं मिनेटमा मैदान छिरेका लुकास पेरेजले खाली पोस्टमा जाली चुमाउनुभयो । यस जितसँगै रियलको १४ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ३७ अंक छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड २६ अंकसहित रियलभन्दा नौ अंक पछि छ । क्याडिज ११ अंक जोडेर तालिकाको १९औं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?