हरेक चित्रमा संगीतको झंकार र हरेक संगीतमा रंग एवं रेखाको आरोह-अवरोह महसुस गर्ने कोसिस गर्छु : ज्योतिप्रकाश

Read Time = 13 mins

नेपाली गीतसंगीत र चित्रकला क्षेत्रमा नाम जस्तै प्रकाशको ज्योति आफ्ना सिर्जनामा पस्किरहनुभएको छ ज्योतिप्रकाशले । नवलपुरको बुङ्दिकाली गाउँपालिका डेढगाउँमा बुबा तपबहादुर र माता डिलमायाको कोखबाट जन्मिनुभएका उहाँ क्यानभासमा रंगहरूसँग खेल्दै नयाँ-नयाँ चित्रकला प्रस्तुत गर्नुहुन्छ भने हार्मोनियममा आफ्ना औंला चलाउँदै सुर निकाल्ने ध्याउन्नमा लाग्नुहुन्छ । मिठो स्वरका धनी ज्योतिप्रकाश संगीतको मिठो झंकार र हरेक संगीतमा सुन्दर चित्र खोज्न मन पराउने दिमागको तार नफुस्किएको यौटा पागलको संज्ञा दिनुहुन्छ । थुप्रै चित्रकला, संगीत र गीतबाट धेरैको मनमष्तिस्कमा बस्न सफल उहाँ अन्तरमनकोे मनमुटाव सकिएपछि ब्रस र क्यानभासको युद्ध चल्छ अनि नयाँ चित्रले आकार लिँदै जाने बताउनुहुन्छ । यतिबेला आठौं एकल चित्रकला प्रदर्शनी र दुईवटा गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा रहनुभएका उहाँ जीवनरूपी कला रंगीन बनाउन गला (संगीत) ले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ । हरेक चित्रमा संगीतको झंकार र हरेक संगीतमा रंग एवं रेखाको आरोह-अवरोह महसुस गर्ने कोसिस गर्ने बताउनुहुने ज्योतिप्रकाशसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
आठौं एकल चित्रकला प्रदर्शनीको तयारीमा छु ।

यसको विषयवस्तु के रहेको छ ?
यस प्रदर्शनीको विषयवस्तु नेपालीहरूको समसामयिक अवस्था र राजनीतिक विचलनमा आधरित हुनेछ ।

ज्योतिप्रकाश को हो ?
म हरेक चित्रभित्र संगीतको मिठो झंकार र हरेक संगीतमा सुन्दर चित्र खोज्न मन पराउने दिमागको तार नफुस्किएको यौटा पागल हो ।

यहाँ सिर्जनामा विविधताको संगम हुनुहुन्छ, यहाँ आफैंलाई बढी रुचिको विषय के हो  ?

मेरो रुचि समसामयिक कला सिर्जना नै हो । त्यो कहिले सात रंगबाट देखाउने कोसिस गर्छु भने कहिलेकाहीँ सात सुरको प्रयोगबाट उजागर गर्ने कोसिस गर्छु ।

कुनै एक रोज्नुपर्‍यो भने कुन क्षेत्रलाई रोज्नुहुन्छ ?
मेरो अध्ययन नै चित्रकला विषय भएका कारण मेरो रुचि चित्रकला हो ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
कला क्षेत्रमा बच्चादेखि नै रुचि थियो । साइन्स टिचर आदरणीय पशुपति ओझा सरले तिम्रो चित्रकला राम्रो छ ललितकलामा तिम्रो भविष्य राम्रो हुन्छ भनेर भन्नुभएको थियो त्यही वाक्यले गर्दा एसएलसीपछि ललितकला क्याम्पसमा कला विषय नै पढेँ । मास्टर्स सकेपछि कलालाई नै पेशाका रूपमा अगाडि बढाउँदै छु ।

क्यानभास र संगीत दुवै मानव जीवनका पर्याय हुन् । क्यानभास रंगको सहायताले मनमा उत्पन्न भएका संगीतमय विचारहरूको उतारचढाव, गहिराइ र उचाइ प्रस्तुत गर्ने माध्यम हो भने संगीत मनभित्र सिर्जित जीवनका भावनात्मक रंगहरूलाई लयको माध्यमबाट प्रस्तुत गर्ने अर्को माध्यम हो ।

जीवन के हो  ? संगीत र क्यानभासलाई कसरी परिभाषित गर्नुहुन्छ  ?
मलाई जीवन एउटा सेतो क्यानभास हो जस्तो लाग्छ जसमा स्वयं व्यक्तिले आफ्नो इच्छाअनुसारको भावनात्मक रंग भरेर आनन्द महसुस गर्न सक्छ । क्यानभास र संगीत दुवै मानव जीवनका पर्याय हुन् । क्यानभास रंगको सहायताले मनमा उत्पन्न भएका संगीतमय विचारहरूको उतारचढाव, गहिराइ र उचाइ प्रस्तुत गर्ने माध्यम हो भने संगीत मनभित्र सिर्जित जीवनका भावनात्मक रंगहरूलाई लयको माध्यमबाट प्रस्तुत गर्ने अर्को माध्यम हो । जसको सही प्रयोग गर्न सकियो भने जीवन सुन्दर हुनसक्छ ।

यहाँको सिर्जनाको आधार के हो?
मेरो सिर्जनाको आधार भनेको समाज हो । समाजमा घटेका विभिन्न घटनाहरूले नै मलाई सिर्जना गर्न अभिप्रेरित गर्छ चाहे त्यो नेपाली समाज होस् या विश्व ।

तपाईं कसका लागि सिर्जना गर्नुहुन्छ ?
मेरा सिर्जनाहरू समग्र मानव समाजका लागि होस् भन्ने नै अभिप्राय रहन्छ ।

आफ्ना सिर्जनामा यौनलाई कत्तिको प्राथमिकतामा राख्नुहुन्छ ?
मेरा सिर्जनाहरूमा यौनका कुराहरू प्राथमिकतामा पर्दैनन् ।

तपाईंलाई आफ्ना सिर्जना सार्वजनिक गरेपछि कस्तो महसुस हुन्छ  ?
कलाकारले कला सिर्जना गर्ने नै सार्वजनिक गर्नका लागि हो । आफ्नो सिर्जना समय सान्दर्भिक भयो कि नाइँ भन्ने अनुमान गर्ने माध्यम पनि यही भएको हुनाले अत्यन्तै खुशी लाग्नु पनि स्वाभाविक नै हो । तर, कस्तो खालको टिकाटिप्पणी आउने हो भन्ने कुराले चाहिँ मनमा अलिकति खुल्दुली भइरहन्छ ।

अहिलेसम्म यहाँले एउटा चित्र तयार गर्न सबैभन्दा कम र बढी समय दिएको कति छ ?
खासमा कस्तो खालको चित्र बनाउने वा कुन विषयवस्तुमा रहेर चित्र बनाउने भन्ने कुराले समयको कुरा निर्धारण गर्छ । कुनै चित्रहरू एक घण्टामा पनि सकेको छु भने कुनै चित्र सिर्जना गर्न ६ महिनासम्म लाग्ने गरेका छन् ।

चित्र तयार गर्नुअघि दिमागमा कस्ता कुरा आइरहन्छन् ?
विषयवस्तु नै महत्वपूर्ण हुने भएकाले सर्वप्रथम त त्यसमै ध्यान केन्द्रित हुन्छ । त्यसपछि त्यो विषयलाई अझ सशक्त बनाउने रंगहरू कुन–कुन हुन्छ होला भन्ने कुरा मनमा खेलिरहन्छ । अन्तरमनको त्यो मनमुटाव सकिएपछि बल्ल ब्रस र क्यानभासको युद्ध चल्छ अनि नयाँ चित्रले आकार लिँदै जान्छ ।

यहाँले संगीतकारका रूपमा पनि त्यत्तिकै सशक्तरूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ, यहाँको पहिलो संगीत सिर्जना कुन थियो होला ?

पहिलो संगीत ‘हे जून तिमीलाई हेरिरहन्छु’ थियो । सुनिताको शब्द रहेको यो गीतमा मेरो आफ्नै स्वर रहेको थियो ।

कतिजति गीतमा संगीत भर्नुभएको छ ?
यस्तै १५० जति गीतमा संगीत भरेको छु । मेरो संगीतमा मुरलीधर, उदय/मनिला सोताङ, रामकृष्ण ढकाल, निशा देसार, रजिना रिमाल, मनोजराज, अञ्जु पन्त, मेलिना राई, कमल बिष्ट, शिव परियारलगायत थुप्रै गायक/गायिकाले स्वर दिनुभएको छ ।

यहाँले थुप्रै गीतमा स्वर दिनुभएको छ, केहीको नाम लिनुपर्दा ?
‘बोल देउता बोल कि मेरो रगत रातो छैन कि तिम्रो मन्दिर सबैको होइन’, ‘मैले कोठामै बसेर पिएँ’, ‘जाने निष्ठूरी’, ‘बिन्ती छ’, ‘हे जून’, ‘यो दशैँमा पनि’, ‘उठौं कलाकार’, ‘कति रातहरू’ लगायतका केही गीतमा आफ्नो स्वर दिएको छु ।

चित्रकला, संगीत र गायन क्षेत्रमा हुनुहुन्छ, यो सबैका लागि कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मैले चित्रकला, संगीत र गायनलाई व्यवस्थापन गर्न सकिन्छ भनेर नै सँगसँगै अघि बढाएको छु । मेरो रुचिका विषय हुन् यी । यी विषयमा केही गर्न सक्छु भन्ने आँट, आत्मविश्वास र भरोसा छ ममा । त्यसैले यी विषयलाई सँगसँगै लिएर अघि बढेको छु । हामीमा भएका पाँच ज्ञानेन्द्रीयहरूलाई सही तरिकाले सदुपयोग गर्न सकियो भने यो सम्भव छ । जस्तै आँखाको काम हेर्ने हो । कलालाई आँखाको विशेष महत्व रहन्छ भने संगीत र गायनलाई कान र जिब्रोको महत्व रहन्छ । यी दुवै यन्त्रलाई एकै समयमा सदुपयोग गर्न सकिन्छ । जस्तै तपाई आँखाले हेर्दै कुनै काम गर्दै हुनुहुन्छ भने त्यो सँगसँगै गुनगुनाउनु पनि हुन्छ । त्यस्तै, मैले चित्र सिर्जना गर्ने क्रममा विशेष रागहरू सुनिरहन्छु, संगीतका कुराहरू पनि सुनिरहन्छु । त्यसैले मलाई दुवै पेशाले एकअर्कालाई सहयोग गरेको महसुस हुन्छ । र, जब कुनै पनि मानिसले कलाको सैद्धान्तिक पक्षलाई बुझ्ने कोसिस गर्छ उसले अरू कलालाई पनि सजिलो तरिकाबाट व्यवस्थापन गर्न सक्छ जस्तो लाग्छ ।

यस क्षेत्रमा परिवारबाट तपाईंलाई कत्तिको सपोर्ट मिलेको छ  ?
पहिले बुबाआमालाई चित्रकला के हो ? यसको भविष्य कस्तो छ भन्ने कुरा थाहा थिएन त्यसैले अलि गुनासो गर्नुहुन्थ्यो के पेशा हो यो भनेर । अहिले उहाँहरूले बुझ्नु भयो कि यो पेशा पनि राम्रो रहेछ । अहिले पूर्ण सहयोग छ ।

अबको यहाँको योजना ?
मेरो अहिलेको मुख्य योजना चाँडै कला प्रदर्शनी गर्ने नै हो । संगीत सिर्जना पनि गरिरहेको छु । दुईवटा गीतको भिडियो पनि सार्वजनिक गर्ने तयारीमा छु ।

अन्त्यमा ?
यो हिँड्दा हिँड्दैको संवादमा मलाई पनि समेट्नुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु । जीवन नै स्वयं कला हो । जीवनरूपी कला रंगीन बनाउन गला (संगीत) ले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मैले हरेक चित्रमा संगीतको झंकार र हरेक संगीतमा रंग एवं रेखाको आरोह-अवरोह महसुस गर्ने कोसिस गरेको छु । हजुरहरूले पनि यो महसुस गर्ने कोसिस गर्नुहोला । जीवनमा सुख मिल्ला नमिल्ला तर खुशी अवश्य मिल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?