लामिछानेको चुनावी प्रचारको गाडीमा ढुंगा हानेकोमा एमाले अध्यक्ष ओलीको आपत्ति : युवा राजनीतिमा आए त के बिगारे ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ ।
सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझेको बताउँदै उहाँले मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाउनु भएको छ । उहाँले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गर्नुभयो ।

उहाँले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गर्नुभयो । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उहाँले भन्नुभयो, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

यस प्रकारका गलत निन्दनीय कामको आफ्नो पार्टीले सशक्त निन्दा, विरोध र भत्सर्ना गर्ने उहाँले बताउनु भयो ।

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गर्नुभयो । उहाँले अहिलेको गठबन्धन सरकारको कडा विरोध गर्नुभयो ।उहाँले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाउनु भयो । ओलीले यो सरकार खान मात्र आएको टिप्पणी गर्नुभयो । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाउनु भयो ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उहाँले निकै प्रशंसा गर्नुभयो । उहाँले नेपाली कांग्रेसप्रति रोष व्यक्त गर्दै माओवादीसँग गठबन्धन गरेको भन्दै कडा आपत्ति जनाउनु भयो ।

आफू भोट माग्न आएको भन्दै उहाँले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट माग्नुभएको थियो। अध्यक्ष ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट माग्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?