सिरिजमा नेपालको बराबरी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । युएईविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको सिरिजमा नेपाल एक-एकको बराबरी अवस्थामा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा तीन विकेटको जित हात पार्दै नेपालले शृंखलामा जित हात पारेको हो । यसअघि पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।

जितका लागि १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालको सुरुवात राम्रो नभए पनि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाउनुभयो । एक समय २९.१ ओभरमा १०६-६ को अवस्थामा पुगेका बेला उहाँहरूले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको जितको आधार तय गर्नुभएको थियो ।

नेपालको जितमा आरिफ शेखले ५८ बलमा तीन चौकासहित ३३ रन जोड्नुभयो । यस्तै, सोमपाल कामी १६ बलमा दुई चौकासहित १६ रनमा अविजित रहनुभयो । गुलशन झा ४९ बलमा चार चौका र एक छक्कासहित ३७ रनमा आउट हुनुभयो । कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ३६ रनमा बोल्ड हुनुभयो ।

पहिलो ओभरको चौथो बलमा नेपालले ओपनर अर्जुन साउदलाई शून्यमै गुमाएको थियो । पाँचौँ ओभरको पाँचौँ बलमा आसिफ शेखलाई बासिल हामिदले ६ रनमा क्याच गर्नुभयो । रोहन मुस्तफाले १३औँ ओभरको पाँचौँ बलमा कप्तान रोहित पौडेललाई आठ रनमा एलबीडब्लु आउट गर्नुभयो ।

कप्तान ज्ञानेन्द्र मल्ल १८औँ ओभरको तेस्रो बलमा २६ रनमा र दीपेन्द्रसिंह ऐरी स्पिनर बासिल हामिदको बलमा १३ रनमा बोल्ड भएपछि संकटमा परेको नेपाललाई गुलशन र आरिफको साझेदारीले उकासेको थियो । गुलशन रोहन मुस्तफाको ४५औँ ओभरको दोस्रो बलमा लङअफमा एलिशान शराफुबाट क्याच हुँदै पेभेलियन फर्कनुभयो । त्यसपछि क्रिजमा आउनुभएका सोमपाल कामीले चौका प्रहार गर्दै विजयी रन बटुल्नुभएको थियो ।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिनुभयो । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ४३.२ ओभरमा १९१ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४६ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ५० रन बनाउनुभयो ।

पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै युएईलाई सानदार सुरुवात दिलाउनुभएको थियो । दीपेन्द्रसिंह ऐरीले आफ्नो पहिलो ओभरमै वृत्यलाई सोमपाल कामीबाट क्याच गराउँदै उक्त साझेदारी तोड्नुभएको थियो ।

वृत्यले ३९ बलमा चार चौकासहित २५ रन जोड्नुभयो । त्यसपछि नेपाल खेलमा फर्किएको थियो । स्पिनर ललित राजवंशीको १५औँ ओभरको अन्तिम बलमा वासिमलाई आरिफ सेखको हातबाट क्याच गराउनुभयो । वासिमले ५० रन जोड्नुभयो । ४६ बलमा उहाँले तीन चौका र चार छक्का प्रहार गर्नुभयो ।

त्यसबाहेक युएईका सिपी रिजवानले २२ रन जोड्नुभयो । ३४ बलमा उहाँले दुई चौका प्रहार गर्नुभयो । यस्तै, अलिसान सारफुले ४३ बलमा तीन चौकासहित ३५, वासिल अहमदले २६ बलमा एक चौका र दुई छक्कासहित २४ रन जोड्नुभयो ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिनुभयो । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर तीन विकेट लिनुभयो । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक–एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?