बिहेको सिजनले सुनको माग बढ्यो तर आयात बढेन

Read Time = 3 mins

काठमाडौं । सोमबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । निर्वाचनको भोलिपल्ट बजार खुलेसँगै तोलामा छ सय रुपैयाँ घटेर प्रतितोला ९७ हजार पाँच सय र तेजाबी प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार एक सय र तेजाबी सुनको मूल्य ९७ हजार छ सय रुपैयाँ थियो भने बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबीको ९७ हजार पाँच सय रुपैयाँ थियो । सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा झरेको छ ।

विवाहको लगन तथा विभिन्न चाडपर्वमा नेपाली बजारमा सुनको बढी माग हुने गरेको छ । तीज लागेसँगै दशैँ, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेको होे । तर, सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको मागअनुसार सुनका गहरगहनाहरू दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले सुन अभाव भएको बताएका छन् ।

विगतमा दैनिक २० देखि २५ केजी सुन आयात हुँदै आएकोमा हाल १० केजीमा झरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको बताउनुभएको छ । सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकको मागअनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । गत छ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायी मारमा परेका हुन् ।

अध्यक्ष शाक्यका अनुसार तिहारमा ५० केजीसम्म बिहेको सिजनमा पनि सोहीअनुसारको माग हुने गरेको छ । सुन आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको शाक्यले बताउनुभएको छ । सरकारले सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने उहाँको भनाइ छ । विगतमा दैनिक २० देखि २५ केजी सुन आयात हुँदै आएकोमा हाल १० केजीमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?