नेत्रज्योति संघको उज्यालो कार्यक्रम

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । उमेर बढ्दै जाँदा आँखाको ज्योति पनि घट्दै जान्छ । समयमा उपचार नपाए दृष्टिविहीन हुने जोखिम रहन्छ । अझै पनि नागरिकहरू आँखा उपचारको पहुँचभन्दा टाढा छन् । यस्तो अवस्थामा आँखा उपचार सबैको पहुँचमा पुर्‍याउन दाङमा उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ ।

स्थानीय सरकारसँगको साझेदारीमा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रममार्फत् उज्यालो अभियान चलाइएको हो । जसअन्तर्गत आँखाको ज्योति गुमाउने जोखिममा रहेकाहरूले उपचारपछि नयाँ जीवन पाएका छन् । गढवा गाउँपालिकाले मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न यस वर्ष १५ लाख बजेट विनियोजन गरेको छ । मोतिबिन्दु भएर दृष्टि गुम्न थालेकाहरूको शल्यक्रिया गरेर उज्यालो प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती बहादुरगञ्जसँगको सहकार्यमा उज्यालो कार्यक्रम सञ्चालन भएपछि आँखा उपचारको पहुँचमा नागरिकहरू पुग्न थालेका हुन् ।

‘हरेक पालिकामा एउटा आँखा उपचार केन्द्र स्थापना गर्ने नीति हामीले पनि अवलम्बन गर्नेछौँ । आँखाको प्राथमिक उपचार स्थानीयस्तरमै गर्ने तयारी पनि छ,’ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले भन्नुभयो, ‘कोइलावासमा रहेको आँखा उपचार केन्द्र त छँदैछ । अब गढवा क्षेत्रमा पनि अर्काे आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ ।’ तुलसीपुर उपमहानगरपालिकाले निःशुल्क आँखा उपचार सेवा सञ्चालन गरेको छ । राप्ती आँखा अस्पतालसँगको साझेदारीमा उज्यालो अभियानअन्तर्गत आँखा उपचार र मोतिबिन्दुको शल्यक्रिया निःशुल्क गरिएको हो । ‘आँखा संवेदनशील अंग भएकाले यसको उपचार पनि संवेदनशील हुन्छ । त्यही बुझेर निःशुल्क उपचारका लागि हामीले साझेदारी गरेका छौँ,’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भन्नुभयो, ‘अन्धोपन निवारण गर्ने लक्ष्यमा स्थानीय सरकारले साझेदारी गरेका छौँ । आँखा उपचारमा राम्रो उपलब्धि देखिँदैछ ।’

दाङ जिल्लाका सबैजसो स्थानीय तहमा उज्यालो कार्यक्रम लागू भएको छ । विगत दुई वर्षदेखि यो अभियानले निरन्तरता पाएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले आँखा स्वास्थ्य सेवालाई एकीकृतरूपमा सञ्चालन गर्ने स्पष्ट पारेको छ । सोही नीतिमा आधारित भएर दाङ जिल्लाका दशवटै स्थानीय तहमा उज्यालो कार्यक्रम सञ्चालन गरिएको अस्पतालका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो । ‘यो कार्यक्रम सुरुमा तुलसीपुर उपमहानगरपालिकाबाट लागू भयो । अहिले जिल्लाका सबैजसो पालिकामा चलिरहेको छ,’ थापाले भन्नुभयो, ‘वडास्तरमा निःशुल्क आँखा उपचार शिविर चल्दै आएको छ । मोतिबिन्दुको निःशुल्क शल्यक्रिया पनि हुँदै आएको छ ।’

दाङ जिल्लामा एक हजार चार सय बढीमा विभिन्न प्रकारको अन्धोपन रहेको ¥याब सर्भेले देखाएको थियो । यो सर्भे सन् २०१६ देखि सन् २०१९ को बीचमा गरिएको थियो । सर्भेको नतिजाका आधारमा उज्यालो कार्यक्रम लागू गरिएको हो । स्थानीय सरकारको साझेदारीमा भौतिक पूर्वाधारमा समेत लगानी जुटेको छ । तुलसीपुर उपमहानगरपालिकाले करिब दुई करोड बजेट लगानी गरेको छ भने हाल लमही नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । गढवाले १५ लाख र राजपुर गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ । ३५ वर्षदेखि अन्धोपन निवारणका लागि आँखा स्वास्थ्य कार्यक्रम चलिरहेको छ ।

यसैकीच, दाङका दशवटै स्थानीय तहमा एकीकृत आँखा उपचार केन्द्र स्थापनाको पहल सुरु भएको छ । हालसम्म जिल्लामा दुईवटा आँखा अस्पताल र एउटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । तुलसीपुरमा राप्ती आँखा अस्पताल र लमहीमा लमही आँखा अस्पताल छ । गढवा गाउँपालिका-८ कोइलावासमा आँखा उपचार केन्द्र छ । अब घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिकाको भालुबाङ, गढवा र राजपुरमा आँखा उपचार केन्द्र विस्तारको योजना रहेको छ । विकट तथा दूरदराजका क्षेत्रमा आँखा उपचार सेवा पु¥याउने योजना रहेको नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?