देश हाँक्ने नयाँ चालक काँग्रेसले मात्रै दिनसक्छः गगन थापा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताउनुभएको हो । उहाँले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘म आजैबाट, अब नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु । र यसमा तमाम साथीहरुको सबैको स्नेह, माया, यसै गरीकन मसँग रहन्छ । र निर्वाचित भएर आउनुभएका नेपाली काँग्रेसका सांसद साथीहरुले पनि आफ्नो मतदाताले के भनेर पठाउनुभएको छ, त्यो मतदाताको मन के छ ? मतदाताले मत मात्र दिनुभएको छैन, मतदाताले सँगसँगै उहाँले आफ्नो मनको कुरापनि व्यक्त गर्नुभएको छ । त्यो मनको कुरालाई पनि सम्मान गरेर खासगरी नेपाली काँग्रेसको तर्फबाट देशलाई हाँक्नको निम्ति नयाँ नेतृत्वको खोजि भएको कुरालाईसमेत मनन गर्दै सबै साथीहरु नयाँ जोशका साथमा र नयाँ चिन्तनका साथमा संसदभित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’

उहाँले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताउनु भयो । देश हाँक्ने नयाँ चालक नेपाली काँग्रेस पार्टीले मात्रै दिनसक्ने उहाँले बताउनु भयो । त्यसको लागि पार्टीभित्र छलफल शुरु भइसकेको उहाँको भनाई छ । प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो- ‘हाम्रो अगाडी ठूलो चुनौती छ, यो चुनौतीको सामना गर्नका लागि देशभरको निर्वाचनको प्रारम्भिक संकेतबाट पनि हामी यतिकुरा भन्नसक्छौँ, नेपालमा नेपाली जनताले स्थिर सरकार मात्र खोजेको होइन, अब नेपाललाई हाँक्ने नयाँ चालक पनि यो अहिलेको निर्वाचनले खोजेको छ । र यो नयाँ चालक पनि आजको दिनमा नेपाललाई कसैले दिनसक्छ भने त्यो हाम्रो पार्टी नेपाली काँग्रेसले नै दिन सक्दछ । त्यसैले निर्वाचनको यो परिणाम सँगसँगै यो बहस, छलफल पनि पार्टीभित्र शुरु भइसकेको छ । यो बहस र छलफलमा सहभागि हुन म निर्वाचित हुनुभएका सबै प्रतिनिधि सभाका सदस्यज्यूहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु । यो बेलामा पार्टी भित्रका अन्य सबै कुरालाई बिर्सेर पार्टीलाई एकतावद्ध पनि बनाएर तर नेपाली काँग्रेस पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक छ अब । नयाँ नेतृत्वले नयाँ विश्वास पनि दिन्छ । त्यो विश्वासले पार्टीलाई मात्रै मजबुत बनाउने होइन, गठबन्धनको यो सरकारलाई मात्र दिगो बनाउने होइन, आम जनतालाई पनि थप विश्वस्त बनाउँछ । यो मेरो आफ्नो विचार मात्र होइन, देशभरीको मतदाताले व्यक्त गर्नुभएको विचार भन्ने ठान्दछु ।’

उहाँले यस निर्वाचनबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ सरकारले आम जनतालाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो । थापाले निर्वाचन परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘मतदाताले मत पनि व्यक्त गरिरहेका छन् तर मतदाताहरुले सँगसँगै आक्रोश पनि व्यक्त गरिरहेका छन् । नेपालमा निर्वाचन भयो । संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । आम मानिसहरु खुशी छन् । तर संविधानमा हामीले गरेका बाचाहरु पूरा हुन सकेको छैन । त्यसमा उनीहरु निराश छन् । आक्रोशित छन् । यो निर्वाचनको लगत्तै पछाडी नेपाली कांग्रेसले नेतृत्व गरेको समाजवादी, माओवादी केन्द्र लगायतको दलहरु रहेको गठबन्धनले बहुमत प्राप्त गर्छ भन्ने कुरामा मलाई शतप्रतिशत विश्वास छ । हाम्रो सरकार बन्छ । तर यो सरकार बनिसकेपछि मैले पहिलेदेखि भन्दै आएको यो सरकारले संवैधानिक हिसावले पाँच वर्षको समय पाएतापनि व्यवहारिक हिसाबले यो सरकारले पाउने समय जम्मा पाँच महिनाको मात्रै हो । सरकार बन्नासाथै दिन, रात एकाकार गरेर हामीले तत्कालै आम मानिसलाई हिजोभन्दा आज, आजभन्दा भोली राम्रो हुँदैछ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्छ ।’

उहाँले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरु पूरा गर्ने संकल्प गरेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?