अब के होला ?

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

सबै राजनीतिक दलहरूका लागि अनपेक्षित नतिजा दिँदै विसं २०७९ को आमनिर्वाचन सकिएको छ । सम्पूर्ण रूपमा निर्वाचन परिणाम प्रकाशित भइसकेको छैन तर पनि प्रारम्भिक नतिजाहरूले दिएको परिणामलाई विश्लेषण गर्दा यस प्रकारको नतिजा कुनै पनि दलको अनुमानमा थिएन । गठबन्धन दलहरूले निकै ठूलो संख्यामा विजय हासिल गर्ने अपेक्षा गरेका थिए भने नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको १५० सिट आउँछ भन्दै हिँड्ने गरेको भए तापनि अहिले आए जत्तिको सुखद् अवस्था एमालेको रहनेमा अन्तर्मनले विश्वास गरेका थिएनन् । यो चुनावमा एक्कासि ठूलो दल हुने लक्षण देखाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो हैसियतमा आफ्नो दल पुग्दछ भन्ने कल्पना गरेको थियो जस्तो लाग्दैन ।

दुई खाले गठबन्धनका बीचमा भएको प्रतिस्पर्धामा तेस्रो दल स्वतन्त्र यसैगरी आउँछ भन्ने कमैले सोचेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले संविधानको रक्षार्थ मत मागेकाले निकै बढी समर्थन पाउने आशा गरेको थियो तर उसको आशामा तुषारापात भएको छ । अर्कोतिर हृदयतः वर्तमान संविधानलाई नरुचाएको तर बाहृयरूपमा स्वीकार गरेको नेकपा एमाले र राजावादी राप्रपा एवं राप्रपा नेपालका बीचमा भएको गठबन्धनलाई भने राप्रपाले राम्रो नतिजा हात पार्ने लक्षण देखिएपछि निर्वाचन परिणामले हौस्याएको छ । निर्वाचन सकिएसँगै अन्तरदलका प्रतिस्पर्धा सकिएको छ । दलहरू भित्रको आन्तरिक प्रतिस्पर्धा अब प्रारम्भ हुने समय आएको छ । संसदीय दलको नेता को हुने र भावी दिनका लागि प्रधानमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्ने बेला नजिकै आइसकेको छ । संसद प्रवेश गरेका प्रत्येक दलले आफ्नो संसदीय दलको नेता चयन गरी आफ्नो दलले मौका पाएमा प्रधानमन्त्रीका रूपमा फलानो हुन्छ भनेर निर्णय गर्नुपर्ने हुन्छ । यो अवस्था नरहे पनि संसदीय क्रियाकलापमा दलका तर्फबाट नेतृत्व गरी आवश्यक निर्णय लिनका लागि दलको नेता चयन गर्दछन् ।

कांग्रेसमा प्रधानमन्त्री हुन्छु भनेर बोलेका आधा दर्जन नेताहरू छन् । सबैभन्दा पहिलो घोषणा गर्ने गगन थापा हुन् भने डा.शेखर कोइराला, रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका दाबेदार हुन् ।

विगतका अभ्यास हेर्दा नेपाली कांग्रेसमा संसदीय नेताको चयन गर्नका लागि दलभित्र निर्वाचन नै हुनेगरेको छ । निर्वाचित सांसदहरूले मतदान प्रक्रियाद्वारा नै नेता चुन्ने गरेका छन् । अन्य दलहरूमा भने यसप्रकारको लोकतान्त्रिक अभ्यास हुने गरेको त्यति पाइँदैन । अहिलेकै अवस्थामा हेर्ने हो भने पनि सांसदहरू चुनिनुअघि नै सांसदहरूको अधिकारलाई आफ्नो हातमा लिएर पार्टीको केन्द्रले भावी प्रधानमन्त्री केपी ओली भन्दै नेकपा एमालेले संसदीय दलको नेता छानिसकेको छ । माओवादीमा पनि प्रचण्डको विकल्पमा कोही उभिएलान् जस्तो देखिएको छैन । स्वतन्त्र पार्टीको पनि रवि लामिछाने संसद्मा रहने अवस्था रहेमा अरू कोही होला जस्तो लाग्दैन ।

कांग्रेसमा भने प्रधानमन्त्री हुन्छु भनेर बोलेका आधा दर्जन नेताहरू छन् । सबैभन्दा पहिलो घोषणा गर्ने गगन थापा हुन् भने डा.शेखर कोइराला, रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका दाबेदार हुन् । यीमध्ये कतिपयले पार्टीको संसदीय दलमा प्रतिस्पर्धा गर्नका लागि सांसद हुनुपर्ने न्यूनतम योग्यता पूरा गरिसकेका छन् भने कतिको परिणाम के हुने हो यो लेख तयार पार्दासम्म निर्णय भइसकेको छैन । पार्टीका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको त सात पटक प्रधानमन्त्री हुने जोग नै छ र अहिलेसम्म जम्मा पाँच पटकमात्र पुगेको छ ।

अब अरूले के गर्छन् यसै भन्न सकिँदैन तर काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद एवं कांग्रेसका महामन्त्री गगन थापाले निश्चय नै संसदीय दलको नेताको चुनाव लड्ने छन् । आफ्ना मतदाताहरूसँग यही वाचाका साथ मत मागेका थापाले कुनै पनि हालतमा आफ्नो वचन फिर्ता लेलान् जस्तो लाग्दैन । प्रत्यक्ष चुनाव जितेका सांसदका आधारमा कांग्रेसलाई ठूलो पार्टी बनाएको दावाका साथ वर्तमान सभापति देउवा पनि पछि हट्ने कुनै लक्षण देखिँदैन । संकट त त्यो बेला आउने छ जब डा.शेखर कोइराला र गगन थापा दुवैले संसदीय नेताको दाबी गर्नेछन् । आफूले समूहको नेतृत्व गरेका कारण संसदीय दलको नेतृत्व पनि आफैँले पाउनुपर्ने भन्ने सहज दाबी कोइरालाको हुनेछ भने पहिल्यैदेखि नै घोषणा गरेको, युवाको नेतृत्व स्थापित हुनुपर्ने समय र जनताको माग, जनमानसमा आफ्नो लोकप्रियतालाई दर्शाउँदै थापाले उम्मेदवारी दिनेछन् । यसलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका कारण थापालाई केही सजिलो भएको छ र थापालाई अघि सार्ने थुप्रै सांसदहरूको प्रवेश संसद्मा हुँदैछ ।

त्यसका अलावा समयले युवाको माग गरेको, परिवर्तन खोजेको र विगतमा छ महिनामात्रै मन्त्री हुँदा पनि केही उल्लेख्य काम गरेर देखाएका कारण उनको दाबीलाई कांग्रेसका अन्य सांसदहरूले सहज रूपमा स्वीकार गर्ने देखिन्छ । कतिपय सांसदलाई विभिन्न कारणले खुलेर गगनलाई समर्थन जनाउन अप्ठ्यरो पर्ने भए तापनि गोप्य मतदान हुँदा साथ दिने सम्भावना छ । अर्कोतिर हजुर समानुपातिकमा रहेकै कारण नेपाली कांग्रेसले यति सिट ल्याएको हो भनेर फुक्र्याउँदै चाकडी बजाउने सांसदहरूको चलखेल पनि बढ्नेछ । हजुरले ठाउँठाउँमा गएर भाषण गरेकै कारण नेपाली कांग्रेसले विजय हासिल गरेको हुँदा दाइमा नै नेतृत्व राखेर हजुरका हातबाट शक्ति फुत्किन दिनु हुँदैन भन्दै भोलिका लागि मन्त्री पद सुरक्षित गर्न सल्बलाउने सांसदहरूको संख्या पनि ठूलै हुनेछ । जे जे भए पनि र संसदीय दलको नेता देउवा हुन् या थापा, कोइराला हुन् या पौडेल, सर्वसम्मत निर्णय गरेर समयको माग सम्बोधन गर्न सके नेपाली कांग्रेसको आगामी भविष्य उज्वल हुने थियो तर यो सम्भव देखिएको छैन ।

कांग्रेस एक्लैले सरकार गठन गर्ने सम्भावना विल्कुलै छैन । यो त खालि संसदीय नेताको चयनको विषयमात्रै हो । सरकार बनाउन गठबन्धनमै रहेका माओवादी, माधव नेपालको एस र जनमोर्चाले मात्रै साथ दिए पनि पुग्ने अवस्था आउने देखिएको छ तर माओवादी र एसले यो नतिजालाई सहजै स्वीकार गर्लान् जस्तो लाग्दैन । निर्वाचन परिणामको अन्त्यतिर पुग्न थालेपछि प्रचण्ड र माधव नेपालहरूले नेपाली कांग्रेसले धोका दियो भन्न थाल्ने छन् । हामीले गठबन्धनमा इमानदारीता देखायौँ तर नेपाली कांग्रेस र कांग्रेसीहरूले बेइमानी गरे भनेर आरोप लगाउने र बेइमानीको बिल्ला भिराउन प्रयत्न गर्ने दिन अब धेरै टाढा छैन तर उनीहरूले नेपाली कांग्रेसको साथ नपाएको भए यति पनि सफलता प्राप्त गर्ने थिएनन् भन्नेतिर चाहिँ कत्ति पनि सोच्ने छैनन् । नेपाली कांग्रेसका केही नेताहरू भने उनीहरूलाई फकाउन दिलोज्यान दिएर लाग्ने छन् । उनीहरूलाई आफ्नो हैसियत थाहा छ तर पनि ठुस्सिएको नाटक गर्दै आफ्नो हारको जिम्मा कांग्रेसलाई भिराउने प्रयत्न गर्नेछन् ।

अर्कोतिर वर्षौंदेखि इमानदार कांग्रेस रहेका कांग्रेसीहरूका पीडा आफ्नै छन् । रूखबाहेक अन्यत्र मत नहाल्ने प्रण गरेर बसेका सच्चा कांग्रेसीहरूलाई हँसियाहथौडामा मत हाल्दा भएको दुःखको कसैले विवेचन गरेको छैन । कलम चिहृनमा मत हाल्दा कांग्रेसीहरूको हात त्यति काँपेको थिएन तर हँसिया हथौडामा कुन कष्टका साथ मत दिए भन्ने कुरामा सत्तामा बसेका कांग्रेसीहरू र माओवादी पार्टी दुवैले कुनै वास्ता गरेको देखिँदैन । सांसद हुनेहरूलाई, मन्त्री हुनेहरूलाई, प्रधानमन्त्री या सत्तास्वाद चाख्न पाउनेहरूलाई यसले केही प्रभाव पारेको छैन होला तर विनास्वाद रूख चिहृन छाड्नु पर्दाका मर्कालाई नजरअन्दाज गरिएको छ ।

लामिछानेलाई पनि त्यति सहज अवस्था भने छैन । कुनै एक विचारमा सहमत भएकाहरूको समूह उनको पार्टी होइन । राजनीतिक दलहरूका विकृतिमा औँला ठड्याउँदै दलहरूमाथिको वितृष्णालाई अवसरमा परिणत गर्न सफल व्यक्तिहरूको पार्टी स्वतन्त्र पार्टी हो ।

संसद्मा ठूलै संख्याका सांसद लिएर आउने नेकपा एमाले पनि त्यसै चुप लागेर कांग्रेसलाई सहजरूपमा सरकार गठन गर्न निश्चय नै दिनेवाला छैन । निर्वाचन सकिने बित्तिकै मंसिर १५ गते नेकपा एमालेको सरकार बन्छ भनेर घोषणा गर्ने केपी ओलीले प्रचण्ड र माधव नेपालको आक्रोशको फाइदा उठाउने प्रयत्न नगर्लान् भन्न यसै सकिन्न । कम्युनिष्ट राजनीतिमा आलोचना र आत्मालोचनालाई अत्यन्त सहज मानिन्छ । तसर्थ नेपाली कांग्रेसको संसदीय नेता जो भए पनि देउवालाई यसअघि प्रधानमन्त्री हुने मौका आए जसरी अब पनि आउने छ भनेर अनुमान गर्न कठिन नै छ ।

अर्कोतिर प्रचण्डको ठाउँ रवि लामिछानेले लिएका छन् । नेकपा माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले विस्थापितै गर्न नसके पनि सोही स्थानमा पुगेको छ । यसअघिको संसदमा प्रचण्ड जता ढल्क्यो त्यतै बहुमत पुग्दथ्यो । त्यसैले राष्ट्रको साँचो आफ्ना हातमा रहेको हुंकार प्रचण्डबाट सधैं आउने गर्दथ्यो तर त्यो अवसर अब निर्वाचन परिणामले प्रचण्डसहित रवि लामिछाने समेतमा सारिदिएको छ । हेर्न बाँकी के छ भने भोलिका दिनमा रवि लामिछानेले कस्तो भूमिका बहन गर्नेछन् । लामिछानेलाई पनि त्यति सहज अवस्था भने छैन । कुनै एक विचारमा सहमत भएकाहरूको समूह उनको पार्टी होइन । राजनीतिक दलहरूका विकृतिमा औँला ठड्याउँदै दलहरूमाथिको वितृष्णालाई अवसरमा परिणत गर्न सफल व्यक्तिहरूको पार्टी स्वतन्त्र पार्टी हो । सेवाभावभन्दा पनि सांसद हुने र मन्त्री बन्ने अनि सकिएछ भने केही डेलिभरी दिउँला भन्नेहरू त्यहाँ छैनन् भन्ने छैन । त्यसलाई समेटेर सही लिकमा हिँडाउन लामिछाने कति सफल हुन्छन्, त्यो भने भोलिका दिनले बताउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?