बीमा अभिकर्तालाई कडाइ

Read Time = 3 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता परीक्षा लिने जिम्मा बीमा कम्पनीहरूलाई दिएको छ । प्राधिकरणले नयाँ तथा पहिले नै अभिकर्ता तालिम प्राप्तलाई परीक्षा लिएर उत्तीर्ण हुनेलाई मात्रै लाइसेन्स वितरण गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा (२) मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । प्राधिकरणले सोही व्यवस्था कार्यान्वयन गर्न तत्कालका लागि बीमा अभिकर्ताको परीक्षा लिने जिम्मेवारी सम्बन्धित कम्पनीलाई नै दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अर्को निर्णय नहुँदासम्म अभिकर्ता बन्न चाहनेको परीक्षा सम्बन्धित बीमा कम्पनीले नै लिनुपर्नेछ । बीमा ऐन लागू हुनअघि नै तालिम लिएर अभिकर्ताको लाइसेन्स प्राप्त नगर्नेले समेत यस्तो परीक्षा दिनुपर्छ । तर, आगामी दिनमा अभिकर्ता परीक्षा प्राधिकरणले नै लिएर उत्तीर्ण हुनेलाई मात्रै लाइसेन्स वितरण गर्ने भएको छ ।

बीमा कम्पनीहरूले अभिकर्ता परीक्षा लिन उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण गर्नुपर्नेछ । परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनीयता, निष्पक्षता र पारदर्शितासमेत कायम गर्नुपर्नेछ । बीमा कम्पनीहरूले तयार पारेको प्रश्नपत्रमा परीक्षाको अंकभार एक सय तथा उत्तीर्णांक ५० हुनेछ । यसअघिसम्म एलएलसी वा एसइई उत्तीर्णलाई सम्बन्धित बीमा कम्पनीले १८ घण्टा आधारभूत तालिम दिएपछि प्राधिकरणले अभिकर्ता लाइसेन्स दिने गरेको थियो ।

बीमित र बीमकबीचमा समन्वय गराउँदै व्यवसाय विस्तार गर्न अभिकर्ताको मुख्य भूमिका हुन्छ । तर, पछिल्लो समय केही अभिकर्ताहरूले नियतबस नै बीमाको गलत प्रयोग गरेको घटनापछि लाइसेन्स वितरणमा प्राधिकरणले कडाइ गरेको हो । हालसम्म साढे दुई लाखभन्दा बढीलाई अभिकर्ता लाइसेन्स दिएको भए पनि करिब एक लाखजनामात्रै सम्बन्धित क्षेत्रमा रहेको प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?