मजदुर र किसानका लागि चुनाव : ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’

हिमालय टाइम्स
Read Time = 6 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । चोकको चिया पसल होस् या गाउँका खेतबारी । यतिबेला सबैतिर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनकै चर्चा छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधिको पाँच वर्षे कार्यकालको लेखाजोखा गरिसकेका मतदाताका लागि अब आउने निर्वाचनमा कसले जित्ला भन्ने खुलदुली पनि उत्तिकै छ ।

मंसिर लाग्नै लाग्दा पाहारिलो घामले तात्न नसकेको म्याग्दीको भूगोल निर्वाचनको रापले तातेको छ । तर, म्याग्दीका मजदुर, किसान र विपन्न वर्गका मतदाताहरू भने चिसोमा कठ्याङ्ग्रिदै नदी किनारमा गिट्टी कुटिरहेका छन्, खेतको धान खलोमा ओसार्दै चुटिरहेका छन् भने विपन्न व्यक्तिहरू ज्याला मजदुरीका लागि काम खोज्दै भौतारिइरहेका छन् । उनीहरूलाई मंसिर ४ को निर्वाचन ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो बनेको छ ।

गाउँबस्ती सहर बजारमा चोक चौतारा चुनावी चर्चाले तातिएको बेला धौलागिरि गाउँपालिका-१ गुर्जा स्थायी घर भई हाल बेनी नगरपालिका-२ बगरफाँटमा बसेर ज्याला मजदुरी गर्दै आउनुभएका ६४ वर्षीय दलबहादुर विकलाई भने चुनावको कुनै रौनक छैन । विकलाई परिवारको जिम्मेवारी र आफ्नो कामको मात्रै चिन्ता छ ।

फलामको टुकटुके (हथौडा) र ढुंगा माटोसँग चार दशकदेखि दरिलो नाता जोडिएको छ विकको । उहाँले सिकर्मी र डकर्मीको काम गरेर आफ्ना ६ जना परिवार पाल्दै आउनुभएको छ ।

मंसिर ४ अर्थात् निर्वाचनको दिन आउन अब केवल दुई दिन मात्र बाँकी छ । उहाँको मतदाता नामावलीको लिष्टमा नाम पनि छ । भोट हाल्नका लागि गुर्जा जान उहाँलाई पूरै दुई दिन र फर्किन दुई दिन गरी चार दिन खर्चिनुपर्छ । पाँच हजारको हाराहारीमा खर्च हुन्छ । चार दिनको आफ्नो मजदुरी गुम्ने त छँदै छ । यतिधेरै सास्ती र खर्च व्यहोरेर मत हाल्नका लागि उहाँले गुर्जा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसलाई भोट दिएर हामी गरिबलाई के हुन्छ र ? चुनाव त हाम्रा लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भने जस्तै हो ।
त्यस्तै, अवस्था छ मालिका गाउँपालिका-५ देविस्थान घर भई बेनीमा ज्याला मजदुरी गर्ने, गिट्टी कुट्ने ५७ वर्षीया राधिका परियारको पनि ।

विगत नौ वर्षदेखि सदरमुकाम बेनीमा बसेर ज्याला मजदुरी गर्दै आउनुभएकी परियारलाई चुनावी चटारोले छोएको छैन । उहाँलाई आफ्नै कामको हतारो छ । म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा पर्ने देवीस्थानकी परियारले मंसिर ४ गते निर्वाचन हो भन्ने त सुन्नुभएको छ तर आफ्नो निर्वाचन क्षेत्रमा कोको उम्मेदवार छन् र उनीहरूको चुनाव चिन्ह केहो भन्ने कुराको जानकारी छैन । ‘परियार भन्नुहुन्छ, मंसिर ४ गते चुनाव हो भन्ने कुरा त सुनेकी छु तर कोकोलाई केमा भोट दिने हो भन्ने कुरा थाहा छैन ।’

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच/पाँचजना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

यी मतदातामध्ये २८ देखि ३० प्रतिशत मतदाता गरिब, दलित र विपन्न परिवारका छन् । निर्वाचनमा उनीहरूको मत नै निर्णायक मत हुन्छ । राजनीतिकरुपमा तटस्थ रहेका र आफ्नै घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले पिरोलिएका यी मतदाताहरूलाई चुनावप्रति भने खासै उत्साह छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?