वेल्सलाई समूह चरणबाटै बाहिरिने खतरा

Read Time = 2 mins

दोहा । विश्वकपमा ६४ वर्षपछि पुनरागमन गरेको वेल्सले समूह चरणको दोस्रो खेलमा इरानसँग पराजित भएपछि समूह चरणबाटै बाहिरने खतरा बढेको छ । कतार विश्वकप २०२२ मा शुक्रबार राति सम्पन्न समूह बीको दोस्रो खेलमा इरानले वेल्सलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको अन्त्यतिर वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इरानले इन्ज्युरी समयमा त्यसको फाइदा उठाउँदै दुई गोल गरेको हो । खेलको १५औं मिनेटमा इरानका अली घोलीजादेहले गोल गरे पनि अफसाइड भएका कारण त्यसले मान्यता पाएन । पहिलो हाफको अन्त्यतिर पनि अहमद नुरल्लाहीले गरेको प्रहार गोलरक्षक वायन हेनेसीले जोगाउनुभयो ।

७३औं मिनेटमा साइद एजातोलोहीले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहारलाई पुनः गोलरक्षक हनेसीले जोगाउनुभएको थियो । ८६औं मिनेटमा भन् गोलरक्षक वायन हेनेसीले पेनाल्टी क्षेत्रबाहिर बल रोक्ने प्रयासमा इरानका फरवार्डलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता उहाँलाई रातो कार्ड दिनुभयो ।

त्यसपछि इन्ज्युरी समयमा इरानले दुई गोल थप्यो । रुज्बेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाउनुभयो । उनले थप गरिएको नवौं मिनेटमा गोल गर्नुभएको थियो । लगत्तै काउन्टर अट्याकमा रमिन रेजानले इरानका लागि दोस्रो गोल थप्नुभयो ।

यससँगै इरानले पहिलो खेलमा व्यहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । वेल्सले भने पहिलो खेलमा बराबरी खेलेका कारण उसको एक अंकमात्रै छ । समूहमा इंग्ल्याण्ड र अमेरिका छन् । वेल्सले अब अर्को खेलमा बलियो इंग्ल्याण्डको सामना गर्दैछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?