केयुसँगको सहकार्यमा सहकारी डिप्लोमा कोर्स

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालय(केयु)बीच डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । आगामी पुस १ गतेदेखि सुुरु हुने सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स केयुका विज्ञ प्राध्यापकहरूद्वारा सञ्चालन हुने बताइएको छ । सोसम्बन्धी सम्झौतापत्रमा शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र केयुको स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा देवी बिडारीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाइ अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष सञ्चालन गर्नेछ । महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघसंस्थामा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बलरूपमा सञ्चालन गर्न उक्त कोर्स कोशेढुंगा साबित हुने दाबी गर्नुभयो । नेपालमा पहिलोपटक केयुसँगको सहकार्यमा सहकारीको डिप्लोमा कोर्स सञ्चालन हुन लागेको भन्दै उहाँले यसअघि नेपालबाट सहकारीको डिप्लोमा गर्न भारत जानुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको वताउनुभयो ।

महासंघका अनुसार उक्त तीनमहिने कोर्स पूरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सर्टिफिकेट हुने भएकाले आकर्षण बढेको छ । पहिलोपटक सीमित सिटमा कोर्स पाइलटिङका रूपमा सञ्चालन गर्न लागिएको कोर्सको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद रहेको छ । डिन बिडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्स सञ्चालन गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।

केयुका उद्यमशीलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोदकृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समूह कार्य, र इन्टर्नसिपलगायतका प्रयोगात्मक विधिबाट कोर्स अध्यापन गराइने बताउनुभयो । पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?