इतिहास सम्झाउने दुई सय वर्ष पुरानो म्याग्दीको ठकुरीको पँधेरो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी । तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुकोटमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको इतिहास छ ।

विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल र उनका भाइ भर्तिवम मल्लका युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख । यो गाउँ बागलुङका धार्मिक पर्यटकीय स्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्वन्ध रहेको गाउँ हो । गौश्वाराको पुछारमा अवस्थित सानालेख गाउँमा रहेका धेरै ऐतिहासिक तथा प्राकृति सम्पदाहरु नासिइसकेका छन् । बचेको छ एउटा करिव वर्ष पुरानो ठकुरीको पधेंरो (ढुङ्गे धारो) । यही पधेँरो ज्यामरुककोटको इतिहास झल्काउने,सानालेखका पुर्खाहरुलाई सम्झाउने र गृहिणीहरुका दुःख विर्साउने माध्यम बनेको छ ।

ज्यामरुककोटे राजा भर्तिवम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरुले वि.सं १८८६/८७ सालमा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुङ्गेधारो निर्माण गरेका इतिहास रहेको सानालेखका हरिप्रसाद शर्माले बताउनुभयो ।

“यो धारोलाई ठकुरीको पँधेरो भनिन्छ । यसको इतिहास करिव दुईसय वर्ष पुरानो छ” शर्माले भन्नुभयो “ज्यामरुककोटे राजा भर्तिवम मल्लका सन्तानहरु यहाँ आएर बस्न थालेपछि उनीहरुकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पुरै गाउँमा यही एउटा मात्रै धारो रहेकोले ठकुरीहरुले प्रयोग गरी सकेपछि मात्र सापकोटा र थापाहरुले प्रयोग गर्ने गर्दथे भन्ने भनाइरहेको छ ” शर्माले भन्नुभयो ।

ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेको अवस्थामा आफूहरुले आफ्नो पुर्खाको चिनोको रुपमा यो ढुङ्गेधारोको मर्मत सम्हार गरी संरक्षण गरेको शर्माको भनाइ छ ।

“यो धारोसँग हाम्रा पुर्खाहरुको नाम र पहिचान जोडिएको छ । ढुङ्गेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ” शर्माले भन्नुभयो “ढुङ्गाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाँउँबाट कुलेसो बनाइ पुरानै ढुङ्गा र छपनीको प्रयोग गरी पाइपबाट पानी खसालेका छौं ।”

पछिल्लो समय गाउँ गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दाले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु-याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएको अवस्थामा सानालेखबासीले आफ्ना पुर्खाको सम्झनाका लागि ढुङ्गेधारा संरक्षण गरेको बताएका छन् ।
“यो ढुङ्गेधारोसँग हाम्रा पुर्खाहरुको नाम मात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरुको दुःखका दिनको कथा व्यथा पनि जोडिएको छ” स्थानीय महेन्द्र थापाले भन्नुभयो “उ बेला अहिलेको जस्तो हातहातमा मोवाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरी काममा व्यस्त हुनुपर्ने आमा दिदीहरु भेटभएर दुःखसुखका कुरा गर्ने फुर्सद हुँदैनथ्यो । पधेरामा पानी भर्ने बेलामा नै आआफ्ना दुःख सुखका कुरा गर्ने गर्दथे ।”

धारो निर्माणका लागि ऊ बेला नै ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनेढुङ्गाहरु अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुई पटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको सापकोटाले बताउनुभयो । पानीले खियाएर तल्लो भागको मुल ढुङ्गो ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुन: मर्मतको आवश्यकता रहेको हरि शर्माले बताउनुभयो ।

पानी जम्मा हुने ठाउँमा चेपागाडा,भ्यागुता र माछाहरु देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैंभरी पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकोले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुनेगरेको स्थानीयको भनाइरहेको छ ।
साँझ परेपछि यहाँ अनौठो दृश्य देखिने गरेको स्थानीयको भनाइ छ । हिउँद हाेस् वा वर्षा, जुनसुकै याममा पनि साँझपरेपछि यहाँ जुनकिरी (रातिमा पिलपिल उज्यालो देखिने एक किसिमको किरा) को भिड नाँचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुङ्गेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीय रघु शर्माले बताउनुभयो ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौं पधेँरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने उहाँको भनाइरहेको छ ।
यही ढुङ्गेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापाले बताउनुभयो । “उकाली ओराली गर्दा आँत हरर्र भएको बेलामा अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ” उहाँले भन्नुभयो ।

पानी पँधेरो र ढुङ्गेधाराहरुसँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको थापाले बताउनुभयो । ग्रामीण सभ्यताको शुरुआत नै यस्तै सम्पदाहरुबाट भएको उहाँको भनाइ रहेको छ ।

तीन दशक अघिसम्म यही पानी पँधेरो नै यहाँका गृहिणी महिलाहरुको दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थापाले बताउनुभयो । पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका उहाँको भनाइरहेको छ ।

पछिल्लो समय गाउँको सौन्दर्य मात्रै होइन आत्मीयता र सामुहिकतामा समेत संकट उत्पन्न भएको स्थानीय बूढापाकाहरुको भनाइरहेको छ । सामूहिकतामा विश्वास गर्ने गाउँलेहरुको विश्वास भाँचिदै गएपछि एकाङ्कीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरु पनि व्यापारी जस्ता बन्दै जान थालेका बेनी नगरपालिका २ का ८५ वर्षिय खड्गबहादुर घिमिरेले बताउनुभयो । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदाहरुमा हराउँदै गएको जेष्ठनागरिकहरुको भनाइ रहेको छ ।

“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,’ बगरफाँटमा ८८ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो ”अब ती सबै परम्पराहरु हराएर गैसकेका छन् ।”

बिकास,बासाइसराइँ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । बिकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण र विस्तार गर्नुपर्नेमा उल्टो हुँदै गएको स्थानीय बुद्धिजीवीहरको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?