रशिला र अनु फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाइनल प्रवेश गर्नुभएको छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१-१२, २१-९ ले पराजित गर्नुभयो ।

यस्तै, अर्को खेलमा सेनाकी अनुले सेनाकै प्रार्थना देउवामाथि १७-२१, २१-१८, २१-१७ को कठिन जित निकाल्दै उपाधिका लागि रशिलासँगको भेट पक्का गर्नुभएको हो ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल खेलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल हुनुभयो । दाहालले शंकरलाई २१-१०, २१-१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

यस्तै, कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानामाथि २१-१३, २१-११ को जित निकाल्दै सेमिफाइनलमा प्रिन्स दाहालसँगको भेट पक्का गर्नुभएको छ । अर्को खेलमा सेनाका प्रफुल महर्जन पुलिसका हिरा राईमाथि २१-१६ , २१-७ को सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गर्नुभएको छ ।

अब प्रफुलले फाइनल प्रवेशका लागि १६ फिदरका क्षितिज खनालको सामना गर्नहुनेछ । क्षितिजले सेनाका पविन लिनथेपमाथि २१-१२, २१-९ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

यस्तै, छात्रा यू–१७ मा सेनाकी रिहाना शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१-१५, २१-१० ले पराजित गर्दै फाइनल प्रवेश गर्नुभयो । अर्को खेलमा कैलालीकी रञ्जु राना र ललितपुरकी श्रेया बज्राचार्यबीच भएको खेलमा रञ्जुले बाजी मार्नुभयो । उहाँले १-२१, २१-१९, २१-१३ को जित निकाल्दै फाइनलमा उपाधिका लागि रिहानासँगको भेट पक्का गर्नुभयो ।

यसैगरी छात्रतर्फ सेनाका कविर केसी फाइनल प्रवेश गर्नुभयो । कविरले कैलालीका रोशन साउदलाई २१-१९, २१-१७ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्नुभएको हो । अर्को खेलमा सेनाका अनिल मल्लले जित निकाल्नुभयो । अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१-१५, २२-२० को जित निकाल्दै उपाधिका लागि कविरसँगको भेट पक्का गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?