२०६४ पछि पहिलोपटक बर्दियामा माओवादी निल

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 6 mins

बर्दिया । बर्दियामा २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र निल भएको छ । सत्ता गठबन्धन दलका नेताहरूको सहमतिअनुसार बर्दिया क्षेत्र नं २ को प्रतिनिधिसभा, सोही क्षेत्रको प्रदेशसभा (ख) र क्षेत्र न १ को (ख) बाट नेकपा माओवादीले टिकट पाएको थियो । तर, सत्ता गठबन्धनका अन्य दल नेपाली कांग्रेसले शतप्रतिशत जित निकाल्दा माआवादीको बिजोग भएको हो । बर्दियामा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्य रहने व्यवस्था रहेको छ । जसअनुसार गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रले टिकट पाएको थियो भने सोही क्षेत्रको प्रदेशसभा (ख) पनि टिकट पाएको थियो । (क) मा नेपाली कांग्रेसले टिकट पाएको थियो । सो निर्वाचन क्षेत्रमा नागरिक उम्मुक्ति पार्टीको सहयोगमा स्वतन्त्र उम्मेदवार रहनुभएका लालवीर चौधरीले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई एक सय मतान्तरले पराजित गर्नुभएको हो । लालवीर चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा पन्थले २६ हजार ३८४ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभा (ख) मा पनि माओवादीका तर्फबाट मानबहादुर थारूले टिकट पाउनुभएको थियो । सो स्थानमा पनि नागरिक उम्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले २० हजार १२७ मत ल्याउँदै बिजयी हुनुभएको छ । माओवादीका थारूले १० हजार ९८४ मत प्राप्त गर्नुभएको थियो भने नेकपा एमालेका कृष्णी थारूले सात हजार १७ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेबाट निर्वाचन लड्नुभएकी कृष्णी थारू यसअघि लुम्बिनी प्रदेशसभाको उपसभामुख हुनुहुन्थो । माओवादीबाट टिकट पाउनुभएका मानबहादुर थारू पुराना नेताको रूपमा परिचित हुनुहुन्थ्यो ।

माओवादीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत निकाल्दै प्रदेश सभा (ख) जित निकालेको थियो भने प्रदेशसभा (क) मा तत्कालीन अवस्थामा एमालेसँग भएको सम्झौताअनुसार एमालेलाई छोडिएको थियो । त्यसमा एमालेले जित निकालेको थियो । अहिले क्षेत्र नं २ को (क) मा नेपाली कांग्रेसलाई दिइएको थियो सो क्षेत्रमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनाले १७ हजार २५१ मत ल्याउँदै विजयी हुनुभएको छ । नागरिक उम्मुक्ति पार्टीका प्रदेशी चौधरीले १२ हजार १८४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लहनु थारूले १० हजार ६४३ मत प्राप्त गर्नुभएको थियो ।

यता, बर्दिया क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जय गौतमले ३० हजार ६११ मत ल्याउँदै विजयी हुँदा सोही क्षेत्रको प्रदेशसभा (ख) मा गठबन्धनको तर्फबाट टिकट पाएको नेकपा माओवादी केन्द्र पराजित भएको छ । क्षेत्र नं १ प्रतिनिधि सभातर्फ नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत ल्याउँदै दोस्रो हुँदा पत्रकारिता छाडेर राजनीतिमा आउनुभएका ठाकुरसिंह थारूले २३ हजार ९९३ मत ल्याउँदै तेस्रो हुनुभएको छ । सोही क्षेत्रको (क) गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भुवनेश्वर थारूले १७ हजार २६ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका शालिकराम अधिकारीले १६ हजार ९०७ मत ल्याउँदै दोस्रो हुनुभएको थियो । नागरिक उन्मुक्ति पार्टीका खेमबहादुर थारूले ११ हजार ९०२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका अञ्जु दहितले गठबन्धनबाट टिकट पाउनुभएको थियो गठबन्धन दलको सहयोग हुँदाहुँदै पनि उहाँ तेस्रो स्थानमा रहनुभएको छ । सो स्थानमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले १३ हजार २३० मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने नेकपा एमालेका भक्तबहादुर विकले १२ हजार १८३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार अञ्जु दहितले ११ हजार ४९० मत मात्र प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनको भाग बण्डामा कांग्रेसले शतप्रतिशत जित निकाल्दा माओवादी निल हुन पुगेको छ ।
२०६४ सालयता भएका हरेक निर्वाचनमा माओवादीले जित निकालेकोमा यो पटकको निर्वाचनमा भने शून्यमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?