गुल्मीमा प्रत्यक्षतर्फ सात हजारभन्दा बढि मत बदर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीमा प्रत्यक्षतर्फ सात हजारभन्दा बढि मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा यस जिल्लामा प्रत्यक्षतर्फ सात हजार ६१ मत बदर भएको हो ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर–१ मा कुल तीन हजार ४८४ मत र क्षेत्र नम्बर–२ मा तीन हजार ५७७ मत बदर भएको मुख्य अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर–१ मा ७० हजार ४८९ मत खसेकोमा एक हजार ८२५ मत बदर भएको छ । जहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका डा. चन्द्र भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदिप कुमार ज्ञवाली ३२ हजार १५२ मत प्राप्त गर्नुभएको थियो । भण्डारी एक हजार ५९२ मतान्तर सहित विजयी हुनुभएको हो । यहाँ एक लाख १९हजार २८८ मतदाता रहेका छन् ।

सोही क्षेत्रको प्रदेश सभा (क) मा ३२ हजार ७५२ मत खसेकोमा ९५० मत बदर भएको छ । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का सुदर्शन बराल र नेकपा (एमाले) का चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । एमालेका पाण्डेले १५ हजार १२७ मत प्राप्त गरि विजयी हुनुभयो । बरालले १४ हजार २६३ मत गर्नुभयो । ८६४ मतान्तर सहित नेकपा एमालेका पाण्डे विजयी हुनुभएको हो ।

सोही क्षेत्रको प्रदेश सभा (ख) मा ३७ हजार ७५० मत खसेकोमा ७०९ मत बदर भएको छ । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका धनेन्द्र कार्की १८ हजार ५९६ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का फर्सुराम पाण्डेले १७ हजार ९९१ मत प्राप्त गर्नुभयो । काँग्रेसका कार्कीे ६०५ को मतान्तर बनाउँदै विजयी हुनुभएको हो ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ मा ५८ हजार ४८६ मत खसेकोमा एक हजार ८९३ मत बदर भएको छ । यस क्षेत्रमा नेकपा (एमाले) का गोकर्ण विष्ट २८ हजार ४७६ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभयो । एमालेका विष्ट दुई हजार ३५ को मतान्तर सहित विजयी हुनुभयो । यहाँ एक लाख चार हजार ३२७ मतदात रहेका छन् ।

सोही क्षेत्रको प्रदेश सभा (क) मा २८ हजार ९७१ मत खसेको मध्ये ८२२ मत बदर भएको छ । नेकपा (एमाले) का डिल्लीराज भुसाल १४ हजार २८५ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार २३६ मत प्राप्त गर्नुभयो । एमालेका भुसाल एक हजार ४९ को मतान्तर बनाउँदै विजयी हुनुभएको हो ।

यस्तै सोही क्षेत्रको प्रदेश सभा (ख) मा २९ हजार ५१६ मत खसेको मध्ये ८६२ मत बदर भएको छ । यस प्रदेश सभा क्षेत्रमा नेकपा (एमाले) का दिनेश पन्थीले १३ हजार ९२९ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का बुद्धि जिसीले १३ हजार ८१९ मत प्राप्त गर्नुभयो । एमालेका पन्थी ११० को मतान्तर सहित विजयी हुनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?