बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

दोलखाका विवादित १० केन्द्रमा आज चुनाव हुँदै

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरूलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरूले पुनः मतदानको माग गरेका थिए । त्यसैगरी, बाजुराको विभिन्न मतदान केन्द्रमा समेत बुथ कब्जा भएको भन्दै एमालेले पुन मतदान गर्नुपर्ने निवेदन दिएको थियो ।

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा-२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका-३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ ।

चापाकोट नगरपालिका-१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका-७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ । बाजुरामा एमालेले आठ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक-अर्काको आरोप छ । बाजुराकै बुढीनन्दा-५ मा स्थगित मतदान भने भइसकेको छ । बाजुराको त्रिवेणी-७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको ज्यान गएको थियो ।

यसअघि दोलखामा पनि चुनावमा धाँधली भएको भन्दै उजुरी परेपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । बाजुरा र स्याङ्जामा भने मतदान गर्न नपर्ने गरी आयोगको छानबिन टोलीले रिपोर्ट दिएको र उक्त रिपोर्टअनुसार मतगणना गर्ने निर्णय भएको हो । ‘आयोगको रिपोर्टले नै मतगणना गर्ने भनेको छ,’ निर्वाचन आयुक्तले भन्नुभयो । मंसिर ४ गते सम्पन्न निर्वाचनको अरू ठाउँको मत परिणाम आइसकेको छ । दोलखामा १५ गते अर्थात् आजका लागि मतदानको समय तोकिएको छ । दोलखा, स्याङ्जा-२ र बाजुरामा मात्रै अब मतगणना हुन बाँकी रहेको छ । आयुक्तहरूका बीचमा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने बारेमा फरक मत आएपछि मंगलबारको बैठक निर्णयमा पुग्न सकेको थिएन । आयुक्त ईश्वरीप्रसाद पौड्यालले मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिनुपर्ने भन्दै छानबिनका लागि निर्वाचन आयोगको टोली पठाउनै नपर्ने फरक मत राख्नुभएको थियो । तर, आयोगले बहुमतका आधारमा छानबिन टोली पठाएको थियो । बुथ कब्जा गरेर विदेशमा भएका र मृत्यु भएका व्यक्तिको नाममा पनि मतदान गरेको भन्दै दलहरूका बीचमा विवाद भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवाद मिलाउन नसकेपछि विवाद निर्वाचन आयोगसमक्ष आइपुगेको हो । स्याङ्जा-२ मा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । बाजुरामा एमालेका कर्ण थापा र बद्री पाण्डेबीच प्रतिस्पर्धा छ । हालसम्म निर्वाचन आयोगले १६१ स्थानको मत गणनाको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ ।

समानुपातिकमा एमालेको अग्रता कायमै
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल एक करोड एक लाख ७१ हजार ८७९ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत प्राप्त गरेको छ । त्यसैगरी, नेकपा माओवादी केन्द्र ११ लाख ५३ हजार ४४५ मतका साथ तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ७९ हजार २७५ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले चार लाख आठ हजार ९६४ मत र जनमत पार्टीले तीन लाख ७६ हजार १९९ मत प्राप्त गरेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी दुई लाख ९० हजार १९६ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ४९ हजार ८३ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् । यो निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ । प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?