काँग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको छ ।

बिहीवार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताउनुभएको हो ।

उहाँले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताउनु भयो ।
उहाँले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताउनु भयो । उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताउनु भयो । काँग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने काँग्रेसको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘काँग्रेसको संसदीय दलको नेताको निर्वाचन हामी सर्वसम्मत तरिकाले गर्नुपर्छ । त्यो गर्ने वातावरणको निर्माण गर्नुपर्छ । त्यही दिशामा अगाडी बढाउनका लागि वातावरण निर्माण गर्नका लागि मेरो आफ्नो क्रियाशिलता पनि रहनेछ । सिधा कुरा छ, नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडी आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन । अहिले हामी काँग्रेसभित्रको एकताको वातावरण बनाउनु छ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ । काँग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरुलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली काँग्रेसको मुल दायित्व छ । त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडी बढ्यौँ । छलफल र संवाद ग¥यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडी बढ्नसक्छ । सबै खालको र सबै तहको नेतृत्वलाई, सबै उमेर समूहको नेतृत्वलाई सबै ठाउँमा समावेश गरेर सबै तहमा मिलाएर लिन सकिन्छ । र मिलाउनुपर्छ भन्ने मलाई लाग्छ र त्यो विश्वास पनि छ ।’

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गर्नुभयो । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उहाँको भनाई छ । उहाँले सबैको महत्वकांक्षाहरुलाई त्यागेर सबैको सम्मान र भुमिका रहनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सत्तागठबन्धनकै सरकार बनाउने बताउनु भयो । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उहाँले बताउनु भयो । त्यसका निम्ति काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाउनुभएको उहाँले उल्लेख गर्नुभयो । सहमतिमै सरकारको नेतृत्वको चयन हुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताउनु भयो ।

उपसभापति खड्काले बाँडेगाउँमा पुगेर नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले भट्टराई आफ्नो दर्शन गुरु र राजनीतिक गुरु भएको उल्लेख गर्दै आफूले कुनैपनि अभियान शुरु गर्नुपूर्व र परिणाम आएपछि भट्टराईको आश्रममा आएर आशिर्वाद लिने गरेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?