गण्डकीको पहिलो जित, प्रदेश १ बाहिरियो

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई १०९ रनले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित हात पार्‍यो । गण्डकीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा १२५ रनमा समेटियो । कर्णालीका सुवास ऐरले ३६ बलमा ५ चौकासहित ३२, मनिष थापाले १८, विपिन रावलले १९ र युनिश सिंहले १२ रन जोड्नुभयो ।

गण्डकीका सुवास भण्डरीले १० ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ६ विकेट लिनुभएपछि कर्णालीको पारी ध्वस्त भएको थियो । जारी प्रतियोगितामा ६ विकेट लिने उहाँ दोस्रो बलर बन्नुभयो । यसअघि सुदूरपश्चिम प्रदेशका मिलन बोहराले ९.५ ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ६ विकेट लिनुभएको थियो । सुवास भण्डारी जारी प्रतियोगिताको ५ खेलमा १३ विकेट लिइसक्नुभएको छ । उहाँ सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा हुनुहुन्छ । उहाँबाहेक गण्डकीका सिब्रिन श्रेष्ठले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिनुभयो ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । गण्डकीका ओपनर गोविन्द विकले ८७ बलमा ७ चौका र १ छक्कासहित ५५ रन बनाउनुभयो ।

यस्तै अर्जुन कुमाल १०६ बलमा ३ चौकासहित ५० रनमा आउट हुनुभयो । पहिलो विकेटका लागि अर्जुन र गोविन्दले २५.५ ओभरमा ९५ रनको साझेदारी गर्नुभएको थियो । त्यसबाहेक विकेटकिपर दीपक ड्रुमे २७ बलमा ४ चौका र २ छक्कासहित ४४, सिब्रिन श्रेष्ठ २६, करण पंगेनी १० र सुवास भण्डारी २१ रनमा आउट हुनुभयो ।
कर्णालीका अवास शाहले सर्वाधिक तीन तथा मोहन विकले दुई विकेट लिनुभयो । अब गण्डकीले आफ्नो अन्तिम खेल शुक्रबार टियु क्रिकेट मैदानमा मधेश प्रदेशसँग खेल्नेछ ।

लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित हुँदै बाहिरियो प्रदेश १
यस्तै प्रतियोगिताबाट प्रदेश १ बाहिरिएको छ । टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित हुँदै प्रदेश-१ बाहिरिएको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा देव खनालले १९, आकाश त्रिपाठीले १७, प्रज्वल थापाले १५ रन बनाउनुभयो । प्रदेश-१ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा अलआउट हुँदै ६९ रन बनाएको थियो । प्रदेश-१ का लागि शुभम गहतराजले २२, स्टाईन रिजालले १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । लुम्बिनीका निर्मल गुरुङले ४.२ ओभरमा ४ रन दिएर ५ विकेट लिनुभयो ।

जितसँगै लुम्बिनीले पाँच खेलबाट आठ अंक बनाएको छ । समान अंक रहेको बागमती प्रदेशसँग रनरेटमा पछि परेर लुम्बिनी तेस्रो स्थानमा रहेको छ । समान पाँच खेलबाट चार अंक भएको प्रदेश-१ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको विजेताले दुई लाख नगद प्राप्त गर्दा उपविजेताले एक लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन् ।

कटुवालको राजीनामा
प्रदेश १ को प्रादेशिक क्रिकेट संघका सचिव मनोज कटवालले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश १ को आयोजनामा भएको सगरमाथा टि-२० कप क्रिकेट आर्थिक कारणले बीचैमा रोकिएपछि उहाँले प्रतियोगिताबाट राजीनामा दिनुभएको हो । कटुवालले नैतिकताका आधारमा आफूले राजीनामा दिएको बताउनुभएको छ ।

मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली, आयोजक प्रदेश एक र दुई भारतीय टोलीहरू ध्रुव क्रिकेट एकेडेमी र इस्ट सन्ट्रल रेलवे गरि ६ टोली सहभागी थिए । प्रतियोगिताको १० खेल सम्पन्न भइसकेको थियो । तर पैसा तिर्न नसकेपछि सोमबारबाट भने प्रतियोगिता स्थगित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?