लेखा समितिको बैठकमा सांसदहरुले भने : नेपाल सुन तस्करको स्वर्णभूमि भयाे, मुख देखाउनै लाज भयो

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । सांसदहरुले नेपाल तस्करहरुको स्वर्णभूमि बनेको बताउँदै नेपाली जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरु नेपाल तस्कहरुको लागि स्वर्णभूमि बन्नु राम्रो नभएको बताएका हुन् । उनीहरुले पछिल्लो समय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले मुलुकको साख गिरेको बताए । उनीहरुले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री र मन्त्रालयहरुलाई बोलाएर छलफल गर्नुपर्ने र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरे ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो ।

उहाँले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको बताउनु भयो । उहाँले सरकार जवाफदेही बन्ने भन्दापनि वादप्रतिवादमा उत्रिने काम गरेको बताउनु भयो । उहाँले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरु संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताउनु भयो । उहाँले छानबिन गर्नुपर्नेहरुको एजेन्सीबाट निष्पक्ष छानबिन हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको छ । तथ्य प्रमाण छैन तर सुनिरहेको छु, यो कुनै लिगल कुनै मान्छेले पैसा कमाएर सुन किनेर ल्याएर फेरि पैसा कमाउन खोजेको होइन । यदी उसले व्यवसाय गर्दथ्यो भने एक अर्ब रुपैयाँ लगानी घरजग्गामा नै गरेको भए राम्रो कमाइ हुन्छ । तर सुनिँदै छ, यो कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा यसमा प्रयोग भएको छ । हतियारसँग सम्बन्धित प्रसा यसमा प्रयोग भएको छ । लागुऔषधको कारोबार गर्नेको पैसा संलग्न भएको छ, त्यसकारण यो सामान्य घटना होइन । हामीले समितिबाट उच्चस्तरीय छानबिन समितिको माग गरौँ । सरकार सम्बोधन गर्ने ठाउँमा मिडियाबाट वादप्रतिवादमा उत्रिएको छ, सरकार जवाफदेही बन्ने हो, वादप्रतिवादमा उत्रिने सरकारको काकम होइन । सुन तस्करी बढीरहेको छ, त्यसमा सत्तारुढ भित्रकै प्रधानमन्त्रीको दलकै उच्च तहको नेतृत्वको नाम आएको छ, उहाँको परिवारको नाम आएको छ । सामान्यतया एयरपोर्ट जस्तो सेन्सेटिभ ठाउँमा के भनिन्छ भने त्यो देश कस्तो छ भन्नेकुरा एयरपोर्टबाट थाहा हुन्छ, एयरपोर्ट भनेको मुलुकको ऐना हो । नियमित छानबिनको प्रक्रियाबाट यो टुंगिँदैन । जसमाथि छानबिन गर्नुपर्ने छ, त्यसैको एजेन्सी बसेर छानबिन गर्ने ? त्यसैले छानबिन गरेर निस्कर्ष निकाल्छ भन्ने कुरा हुँदैन ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले जनप्रतिनिधि मुलक संस्था निस्क्रिय बनाएर सरकार अस्थिर भइरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सेटिङमा चलेको भन्दै उहाँले सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकार पक्षकै सांसदहरुलै कुरा उठाएपछि समितिले गम्भीर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि मुलक संस्था निस्क्रिय बनाएर सरकार अस्थिर, निस्क्रिय, जवाफदेहीमा आफू रमाएको देखिन्छ । सत्तापक्षकै सांसदहरुले प्रश्न उठाइरहनुभएको छ, यो सरकाकर सेटिङमा छ, यो सरकार तस्करी, भ्रष्टाचार गर्दैछ, भर्खरै भएको सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकारकै सांसदले कुरा उठाएपछि समितिले यो विषयमा सरकारलाई निर्देशित गरी छानबिनको विषय बनाउनुपर्छ ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले नेपाल सुन तस्करको स्वर्णभूमि बनेको बताउनु भयो । उहाँले सुन तस्करीका कारण मुलुकको साख खसेको र आफूलाई मुख देखाउनै गाह्रो भएको बताउनु भयो । उहाँले भ्रष्टाचारका जुनसुकै काण्डमा पनि सरकार निष्पक्ष रुपमा अन्तिम बिन्दुसम्म पुग्नुपर्ने बताउनु भयो । उहाँले स्कुटरको ब्रेक सुमा सुन आएको भनिरहँदा स्कुटर कहाँबाट आयात हुन्छ ? कसरी विमानस्थलबाट स्कुटरको ब्रेक सु छिर्न दिइयो ? भन्नेबारेमा छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले यति ठूलो मात्रामा सुन तस्कर हुँदा प्रधानमन्त्री कार्यालयसहित अर्थ, गृह र पर्यटन मन्त्रालय के गरेर बसेका थिए ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल त तस्करहरुको स्वर्णभूमि नै बनिसकेको रहेछ । यस्तो स्वर्णभूमि जसका हामी सांसद, सरकारमा छाँै, संसदमा छौँ । यसलाई टुलुटुलु हेरेर बसेका छौँ । मुलुकको साख एकदमै खस्यो । नराम्रो प्रभाव परेको छ । हामीलाई मुख देखाउन नै गाह्रो भयो, भ्रष्टाचारका काण्डमा, सुन, भूटानी शरणार्थी, ललिता निवास चाहे जुनसुकै भ्रष्टाचार काण्डमा हामी अन्तिमसम्म पुग्नुपर्छ । यसलाई निस्कर्षमा पु¥याउन लेखा समितिको विशेष ध्यानाकर्षण होस् । स्कुटरको ब्रेक सुमा सुन आयो रे, हाम्रो स्कुटर अमेरिक, युरोप चाइनाबाट आउँछ, आउने जस्तो त लाग्दैन, यत्रो हुँदा भन्सार प्रशासन, प्रधानमन्त्री कार्यालयसहित अन्य मन्त्रालयहरु के हेरेर बसेका छन् । यसमा प्रश्न छ, यसमा गम्भीर बन्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सुन काण्डबारे सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो पटक त सुन फेला प¥यो, मान्छे पनि फेला परे, कुनैबेला त मान्छे मात्रै फेला परे सुन फेला अहिलेसम्म परेको छैन, ३३ किलो सुन काण्ड मान्छे सबै जेलमा छन्, प्रमाणको रुपमा रहेको सुन कहाँ छ थाहा छैन । प्रमाण नै नभएपनि दोषी भए । तर अहिले सुन फेला परेको छ, यो आफैँमा उपलब्धि हो, यसमा सम्बन्धित मन्त्रीहरु बोलाएर छलफल गर्नुपर्छ । अब यो मुलुक साँच्चै नै भ्रष्टाचारीको मुलुक हो त ?’

सांसद केसीले मुलुक साँच्चै भ्रष्टाचारीको मुलुक भएको हो ? भन्दै प्रश्न गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?