कमजोर बन्दै अमेरिकी डलर, बाह्य क्षेत्रको दबाब झेलिरहेको नेपाललाई राहत

Read Time = 4 mins

काठमाडौं । एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रासमेत प्रभावित भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ ।

यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड

शुक्रबार- खरिद दर : १२९.६५, बिक्री दर :१३०.२५
बिहीबार- खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८
बुधबार- खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६
मंगलबार- खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८
सोमबार- खरिद दर : १३०.४० बिक्री दर : १३१
आइतबार- खरिद दर : १३०.४० बिक्री दर :१३१

बाह्य क्षेत्रमा राहत

नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ । विश्व बजारमा रुस/युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ । शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ ।

डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ । जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ । डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो ।

त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवा ब्याजको दायित्व समेत कम पर्ने हुन्छ । डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?