सिलगुढी-काठमाडौं अन्तर्राष्ट्रिय बस सेवा सुरु

Read Time = 3 mins

पार्थ मण्डल/हिटा
झापा । नेपाल-भारतबीचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलगुढीदेखि झापा हुँदै काठमाडौंसम्मको दुईवटा यात्रुवाहक बस सेवा सुरु भएको छ । नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसन (एनबिएसटिसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिलगुढी-काठमाडौं अन्तर्राष्ट्रिय बस सेवा सुरु भएको हो ।

पश्चिम बंगालका यातायातमन्त्री फिरहाद हकिमले एक कार्यक्रमबीच बुधबार उक्त बस सेवा उद्घाटन गर्नुभएको हो । सो अवसरमा यातायातमन्त्री हकिमले भन्नुभयो, ‘नेपाल-भारत दुई देशबीचको अन्तर्राष्ट्रिय बस सेवा धेरै पहिला नै सुरु गर्नुपथ्र्यो, ढिलै भए पनि बस सेवाबाट दुवै देशका नागरिकलाई फाइदा पुग्नेछ ।’

बस सेवाले दुई देशबीचको मैत्री सम्बन्ध अझ प्रगाढ भएर जाने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । एनबिएसटिसीका चियरमेन पार्थ प्रतिम रायले ग्रिन लाइन निजी कम्पनीको सहयोगमा अन्तर्राष्ट्रिय बस सेवा सुरु भएको बताउनुभयो । सिलगुढीबाट प्रत्येक सोमबार, बुधबार, शुक्रबार र काठमाडौंबाट प्रत्येक मंगलबार, बिहीबार र शनिबार बस सेवा सञ्चालन हुनेछ ।

काँकडभित्ता-पानीट्ंयाकी नाकादेखि ३० किलोमिटर दूरीमा सिलगुढी बसपार्क रहेको छ । त्यहाँबाट सुरु हुने बस सेवा काँकडभित्ता-पानीट्ंयाकीबाट नेपाल प्रवेश गरी झापाको सडक हुँदै काठमाडौ पुग्नेछ । सिलगुढी र काठमाडौं दुवै स्थानबाट दिउँसो ३ बजे बस सेवा सुरु हुनेछ ।

४४ सिट क्षमताको बस भाडा भारु १५ सय अर्थात् नेपाली २४ सय रुपैयाँ तोकिएको छ । सिलगुढी बस टर्मिनलस्थित काउन्टर वा सम्बन्धित कम्पनीको अनलाइन सेवाबाट टिकट खरिद गर्न सकिनेछ । पश्चिम बंगालका अधिकांश मानिस कामको सिलसिलामा काठमाडौंमा रहेका छन् । साथै व्यावसायिक कारोबार र स्वास्थ्य उपचार सेवा लिने नागरिकलाई पनि बस सेवाले सहयोग पुर्‍याउने एनबिएसटिसीका चियरमेन रायले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?