शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालनमा ढिलाइ भएको छ । बाँके जिल्ला कारागारमा रहेका कैदीलाई स्थानान्तरणको तयारी गरे पनि सरकारी उदासिनताका कारण कारागार सञ्चालनमा ढिलाइ भएको हो । सरकारले कर्मचारीको दरबन्दी स्वीकृत नगर्दा कर्मचारीको व्यवस्था हुन नसकेकोे जेलर अर्जुनजंग शाहले बताउनुभयो । उहाँका अनुसार कारागारको पहिलो चरणको भवन निर्माण सम्पन्न भइसकेको छ । आवश्यक व्यवस्थासहित कैदीबन्दीहरूलाई राख्न समस्या नहुने उहाँले बताउनुभयो । जेलर शाहले भन्नुभयो, ‘निर्माण भएका संरचनामा कैदीलाई राख्न सकिन्छ, तर कैदी व्यवस्थापन गर्ने कर्मचारी हामीसँग छैनन् ।
कर्मचारीको व्यवस्था हुनेबित्तिकै हामीले कारागार सञ्चालनमा ल्याउँछौँ,’ एक महिनाअघि कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेले क्षेत्रीय कारागारको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले उक्त कारागार तत्काल सञ्चालनमा ल्याउन स्थानीय अधिकारीलाई निर्देशनसमेत दिनुभएको थियो । तर अहिलेसम्म कुनै पनि काम अघि बढ्न सकेको छैन ।
क्षेत्रीय कारागार नौवस्तालाई यथासम्भव छिटो सञ्चालनमा ल्याउन कारागार भित्र रहेका प्रत्येक ब्लकमा थुुनुवा भेटघाट कक्ष निर्माणको काम पनि सकिएको छ । कारागार युनिट ब्लकभित्र च्यानल गेट निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख खड्कबहादुर चौधरीले बताउनुभयो । यसैगरी, प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय सभा हल निर्माण गरिने भएको छ । झण्डै १० बिघा क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागार निर्माणको काम ५० प्रतिशत सकिएको जेलर शाहले जानकारी दिनुभयो ।
तीन हजारको क्षमता भनिए पनि निर्माण गरिएका १६ वटा भवनमा प्रतिभवन १४० का दरले राख्न सकिने उहाँले बताउनुभयो । ‘अहिले निर्माण भएका १६ वटा भवनमा दुई हजार २४० कैदी राख्न सकिनेछ,’ जेलर शाहले भन्नुभयो । पहिलो र दोस्रो चरणका भौतिक संरचना निर्माण पूरा भएपछि तेस्रो चरणमा थप संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।
२२ वर्षअघि निर्माण भएको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुत्नका लागि पर्याप्त स्थान छैन । ३५० जना अट्ने क्षमता भएको बाँके कारागारमा ७८८ कैदीबन्दी रहेको जेलर शाहले बताउनुभयो । जसका कारण उनीहरूले कष्टकर जीवन बिताउनु परेको छ । उक्त कारागारमा पर्याप्त ठाउँ नभएपछि कैदीबन्दीहरू बरण्डा, भान्सा र शौचालयको छतमा समेत सुत्न बाध्य छन् । नौवस्ताको कारागार सञ्चालनमा आए पनि मुद्दा फैसला नभएका, सुनुवाइका लागि अदालत लैजानुपर्ने, उपचार गराउनुपर्ने बिरामी, वृद्धवृद्धा थुनुवालाई नेपालगञ्जस्थित पुरानै कारागारमा राखिने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच