‘निष्ठा छाडेर बिपीको विचारलाई पूजा गर्नु उहाँमाथिकै अन्याय’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संस्थापक बिपी कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा उहाँमाथिकै ठूलो अन्याय भएको बताउनुभएको छ । शनिबार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताउनुभयो । बिपीको विचारमा छलफल नै नहुने गरेको थापाले गुनासो गर्नुभयो । बिपीको विचारमा छलफल नै गर्नु नहुने र विचारलाई मूर्ति पूजा गरेजस्तो पूजा गर्ने कुरा उहाँमाथिको ठूलो अन्याय हुने उहाँको भनाइ थियो । महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरू खोज्नुपर्छ ।

महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजाजस्तो पूजा गर्ने कुरा बिपी माथिको ठूलो अन्याय हो,’ थापाले भन्नुभयो, ‘बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बिपीले म मान्छे हुँ भनिरहनु भएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर, मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छाँै, त्यो अन्याय हो । यसबाट हामीले बाहिर निकाल्नुपर्छ ।’

महामन्त्री थापाले बिपीले आफूलाई मानवझैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको स्मरण गर्नुभयो । उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु अन्याय भएको बताउनुभयो ।

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ कि छैन ? भन्ने प्रश्न खडा भएको बताउनुभयो ।
शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२-१९६८) को लोकार्पण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै बिपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिपीले राजनीतिमा जुन मानक स्थापना गर्नुभएको छ, त्यसलाई तोड्न सकिएको छैन, जसरी साहित्यमा लक्ष्मीप्रसाद देवकोटालाई उछिन्न सकिएको छैन ।’

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो युवापुस्तामा पठनशैली कमजोर भइरहेको भन्दै बिपीको डायरीमा उल्लेखित पुस्तक र लेखकबारे अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले बिपीको अध्येताको व्यक्तित्वले आफू प्रभावित भएको समेत बताउनुभयो । ‘यस पुस्तकमा बिपी धेरै आयाममा फैलिनुभएको देखिन्छ, हाँसिरहेको, उदास भइरहेको, आशाको उचाइ र निराशाको गहिराइमा पुगेको बिपीबारे बुझ्न सकिन्छ’, उहाँले भन्नुभयो । समाजवादको सविस्तारदेखि बिपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू बिपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा बिपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रसंग समेट्नुभएको बताउनुभयो । यस्तै, अर्का केन्द्रीय सदस्य प्रतीमा गौतमले बिपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिनुभयो । प्राडा. कृष्ण खनालले बिपीको जेल डायरीमा जीवन्तता पाइने जिकिर गर्नुभयो । बिपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उहाँको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?