समानुपातिकमा अग्रस्थानमा एमाले, सात पार्टीले राष्ट्रिय दलको मान्यता पाउँदै

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म कुल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ । हालसम्मको विवरणअनुसार सात दलले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् भने केही स्थानको मतगणना अझै जारी रहेको आयोगले जनाएको छ ।

हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार ७५९ मतसहित अग्र स्थानमा देखिएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५९ लाख ८७८ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३९० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ५९७ मतसहित पाँचौँ स्थानमा छ । जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६ मतसहित छैटौँ स्थानमा देखिएको छ भने जनमत पार्टीले तीन लाख ९४ हजार ५१३ मतसहित सातौँ स्थानमा देखिएको छ ।

कुल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ । अहिलेसम्मको अवस्था हेर्दा यी सातवटा राजनीतिक दलहरूले तीन प्रतिशत मत कटाउने देखिएको छ । कुनै दलले तीन प्रतिशत मत कटाउनेबित्तिकै कम्तीमा तीन सिट पाउँछन् । कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार हाराहारी हुनसक्ने ठानिएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार ३५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१४, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ७८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८१ मत प्राप्त गरेको छ । तर, तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा यी पार्टीले भने राष्ट्रिय दलको मान्यता पाउन सकस परेको छ ।

प्रदेशमा कुन दलको मत कति ?
आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार १४४ मतगणना भएको छ । एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार ९५६, राप्रपाले एक लाख ९८ हजार ५११, माओवादीले एक लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार ९५७ मत प्राप्त गरेको छ ।

मधेश प्रदेशमा २० लाख ८६ हजार २९८ मत गणना भएको छ । कांग्रेसले चार लाख १४४, एमालेले तीन लाख ५१ हजार ७६८, जनमत पार्टीले तीन लाख २९ हजार १७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार ७७४, माओवादीले एक लाख ८० हजार ८६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार ९१५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा १८ लाख ५७ हजार ९६६ मतगणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार ६७५, कांग्रेसले चार लाख ७१ हजार ९६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार ३७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार ६५४ र नेकपा (एकीकृत समाजवादी)ले ६४ हजार १०८ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा नौ लाख ८४ हजार ५३९ मत गणना भएको छ । त्यसमा एमालेले तीन लाख ६७ हजार ३६१, कांग्रेसले तीन लाख ४९ हजार २१५, माओवादीले एक लाख १६ हजार ८५१, राप्रपाले ५९ हजार ४४३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३२ मत प्राप्त गरेको छ ।
लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । त्यसमा एमालेले पाँच लाख ७० हजार ९२१, कांग्रेसले चार लाख ९९ हजार ९८६, माओवादीले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८२९ मतगणना भएको छ । त्यसमा एमालेले एक लाख ८३ हजार ९५०, कांग्रेसले एक लाख ७० हजार ७५६, माओवादीले एक लाख ३७ हजार ६२९, नेकपा(एकीकृत समाजवादी)ले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार ९९३ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार ८९४ मतगणना भएको छ । त्यसमा एमालेले दुई लाख ४८ हजार ८४०, कांग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार ९०३, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५४, राप्रपाले ४३ हजार ८०८ र नेकपा(एकीकृत समाजवादी)ले ४१ हजार ८३९ मत प्राप्त गरेको छ ।

राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ ?
राष्ट्रिय दल हुँदा र नहुँदा धेरै फरक भने पर्दैन । राष्ट्रिय दलले अर्को निर्वाचन सम्मका लागि आफ्नो चुनाव चिन्ह सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसद्मा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय र कर्मचारीसहित गाडीको सुविधा पाउँछन् ।

यसैगरी, राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन् भने राष्ट्रिय दलको मान्यता पाउँदा प्राप्त मतअनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयका अनुसार दुईवटा सिट भएका दलहरूलाई छुट्टै संसदीय दलको कार्यालय दिने गरिएको छ । १० भन्दा बढी सिट भएका दलहरूले सचेतकका लागि सचिवालय र सुविधा पाउँछन् । तर, संघीय संसद् सुविधा ऐनले राष्ट्रिय दल भएका र नभएका दलहरूलाई दिइने सुविधा अलग गरेर नछुट्याइएको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?