नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

रासस
Read Time = 2 mins

नयाँदिल्ली । नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदूषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याक्युम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।

यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदूषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । सो प्रतिवेदनमा नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरू अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।

सो आयोगको आइतबार अपराहृन ४ बजेको रिपोर्टमा वायु प्रदूषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एकदेखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात् घातक मानिएको छ ।

नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुवरी)सम्म वायु प्रदूषणको मात्रा बढ्ने गरेको पाइन्छ । यस वर्ष अहिले नै यहाँको प्रदूषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदूषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?