सानदार जितसहित ब्राजिल क्वाटरफाइनलमा

Read Time = 4 mins

दोहा । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई चार-एक गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाउनुभयो । पेनाल्टी क्षेत्रभित्र पाएको बललाई नियन्त्रण गर्दै उहाँले बायाँ भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेमारले अग्रता दोब्बर बनाउनुभयो । पेनाल्टी क्षेत्रभित्र रिचार्लीसनलाई दक्षिण कोरियाली खेलाडीले लडाएपछि रेफ्रीले दिएको पेनाल्टीमा नेमार चुक्नुभएन ।

त्यस्तै, खेलको २९औँ मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता फराकिलो पार्नुभयो । थियागो सिल्भाले दिएको पासमा उहाँले गोल गर्नुभएको थियो । ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गर्नुभयो । भिनिसियस जुनिअरको पासमा उहाँले गोल गर्नुभएको हो ।

खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गर्नुभयो । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल चार–एक गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो । यस्तै, मंगलबार बेलुकी सम्पन्न अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । अब क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्नेछन् ।

कतारको अल जनौब रंगशालामा भएको प्रि–क्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा तीन-एक गोलअन्तरले पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औँ मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाउनुभए पनि खेलको ५५औँ मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याउनुभएको थियो ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाउनुभयो । जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिनुभएको थियो भने ताकुमा असानोको प्रहार भने गोलमा परिणत भएको थियो ।

क्रोएसियाको जितमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गर्नुभयो । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?