अर्थतन्त्र प्रवद्र्धनमा सहकार्यका लागि आइएलओसँग आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघाईले कोरोनापछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरिरहेको बताउनुुभएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को १७औँ एसिया-प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई बुधबार सिंगापुरमा सम्बोधन गर्दै उहाँले कोरोनापछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीको सामना गरिरहेको र त्यसको पुुष्टि अर्थतन्त्रका सूचकबाट भइरहेको बताउनुभयो । उपाध्यक्ष संघाईले सन् २०१६ मा इण्डोनेसियाको बालीमा सम्पन्न एसिया-प्रशान्त क्षेत्रको १६औँ बैठकपछि थुप्रै परिवर्तन भएको, खासगरी कोरोना महामारीको प्रभाव, चुनौती र नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाइ भइरहेको पनि बताउनुभयो । चुनौतीबीच पनि नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगिकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्य वातावरणको सुधारमा जोड दिँदै आएको उहाँको भनाइ थियो ।
उपाध्यक्ष संघाइले भन्नुभयो, ‘निजी क्षेत्रका सबै गतिविधि दिगो विकास लक्ष्य प्राप्तिलाई ध्यानमा राखी सञ्चालन भइरहेका छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनसँग सामाजिक संवादमार्फत् सहकार्य गरिरहेका छौँ ।’

उहाँले एसिया प्रशान्त क्षेत्रका देशहरू आर्थिक वृद्धिका विभिन्न चरणमा रहेका र सो यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रवद्र्धन गरी बलियो अर्थतन्त्र निर्माण गर्न क्षेत्रीय बैठक र राष्ट्रबीचको सहकार्य एसिया प्रशान्त क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण र लाभदायी हुने बताउनुभयो । दिगो विकास र श्रम बजार स्थायित्वका लागि कोरोनापछिको परिदृश्यमा चुनौती सामना गर्न देशहरूलाई सहजीकरण गर्न थप रणनीतिक पहल र समर्थनसाथ अघि बढ्न पनि उहाँले आइएलओलाई आग्रह गर्नुभयो । मंसिर २३ गतेसम्म सञ्चालन हुने बैठकमा नेपाल सरकारको प्रतिनिधिका रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र ट्रेड युनियनतर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले सम्बोधन गर्नुभएको थियो । बैठकमा एसिया प्रशान्त क्षेत्र र अरब राष्ट्रका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिको सहभागिता रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?