समानुपातिकका सांसद तय गर्न आयोगले पठायो दलहरूलाई पत्र

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त सात राजनीतिक दललाई समानुपातिक सांसद तय गर्न पत्र पठाएको छ । बुधबार आयोगले चुनावमा प्राप्त मत र सिट संख्या यकिन गरी समानुपातिक सिट पठाउन पत्र पठाएको हो । आयोगले तीन दिनभित्र सिटअनुरूप सदस्य यकिन पठाउन पत्र पठाएको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसंख्या प्रतिशत र सिट संख्या निर्धारण गरी कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिस गर्न पत्र पठाइएको हो । थ्रेसहोल्ड कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेका मध्येबाट नाम सिफारिस गर्नुपर्नेछ । आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट संख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । समानुपातिकतर्फ नेकपा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी सात, जनता समाजवादी पार्टी पाँच र जनमत पार्टीले पाँच सदस्य पाउने भएका छन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा समानुपातिकतिर देशभरमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको थियो । नेकपा एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१, नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले चार लाख २१ हजार ३१४ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत पाएको छ ।

निर्वाचनमा खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता
यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खटाइएका अधिकांश कर्मचारीको काज फिर्ता भएको छ । निर्वाचनको प्रतिवेदन तयारीसँग सम्बन्धितबाहेक अधिकांश कर्मचारीको काज विभिन्न चरणमा गरी फिर्ता भएको हो । निर्वाचनको सबै मतगणना मंगलबार सम्पन्न भएको थियो । निर्वाचन आयोग र मातहतका कार्यालयका लागि विभिन्न मन्त्रालय र निकायबाट ल्याइएका कर्मचारीको काज फिर्ता गरिएको हो । संयुक्त निर्वाचन परिचालन केन्द्रमा कार्यरत गृह मन्त्रालयका सहसचिवसहित सुरक्षा निकायका अधिकारीलाई आयोगका सचिव गोकर्णमणि दुवाडीले बुधबार धन्यवादसहित बिदाई गर्नुभयो ।

आयोग वा अन्तर्गत रहेका कुल दरबन्दीका अतिरिक्त आवश्यकता र औचित्यका आधारमा विभिन्न कार्यालयबाट काजमा समेत आएका नौ सय जनशक्तिलाई परिचालन गरिएको थियो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा न्यूनतम नौजना दरबन्दी स्वीकृत गरी सोहीअनुसार व्यवस्थापन गरिएको थियो । मतपत्र रुजु गर्ने, प्याकेजिङ गर्ने, मतदान अधिकृतलाई मतपत्र बुझाउने, खर्च भुक्तानी दिनेलगायत कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा मतदान केन्द्रको संख्याका आधारमा थप जनशक्तिको व्यवस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?