यज्ञराज जोशी/हिटा
धनगढी । प्रत्यक्ष र समानुपातिक तर्फको चुनावी नतिजा आइसकेपछि यहाँ कसको नेतृत्वमा सरकार बन्छ भनेर चासोको साथ हेरिएको छ । सत्ता गठबन्धन दलहरूले बहुमत पाएको सुदूरपश्चिममा गठबन्धन भित्रकै कांग्रेस वा नेकपा माओवादी केन्द्रमध्ये कसले सरकार बनाउँछन् भन्ने चासोका साथ हेरिएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सदस्य चाहिन्छ । गठबन्धनले मात्रै सुदूरपश्चिममा ३४ सिट जितेकाले उसको सरकार निश्चित छ । जसमा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ सात गरी १९ सदस्य विजयी भएका छन् । यस्तै, गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्ष आठ र समानुपातिक तीन गरी ११ तथा नेकपा (एकीकृत समाजवादी)का प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक एक गरी चार सदस्य निर्वाचित भएका छन् ।
नेकपा(एमाले)बाट प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक सात गरी १० सदस्य निर्वाचित भएको सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षमा पाँच र समानुपातिक दुई गरी सात सदस्य निर्वाचित भएका छन् । यस्तै, राप्रपाबाट एक र एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
अंकगणितले गठबन्धनको सरकार निश्चित गरे पनि आन्तरिक रूपमा भने कांग्रेस वा माओवादीमध्ये कसले सरकार बनाउने भन्ने बहस पेचिलो बनेको छ । निर्वाचनअघि डडेल्धुरामा भएको चुनावी सभाको प्रधानमन्त्री शेरबहादुर देउवाले अबको सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट भएको सार्वजनिक रूपमै बताउनुभएको थियो । सोही प्रतिबद्धताअनुरूप आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । ‘प्रधानमन्त्रीज्यूको प्रतिबद्धता र प्रदेशमा माओवादीको सम्मानजनक उपस्थितिले पनि यहाँको नेतृत्व माओवादीले पाउने विश्वास छ’, भट्टले हिमालय टाइम्ससँग भन्नुभयो, ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको छ । त्यो लिखित नभए पनि शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नेमा म विश्वस्त छु ।’
यसअघि भट्टले लगातार तीनपटक २०६४, २०७० र २०७४ सालमा देउवाविरुद्ध नै संघीय चुनाव लड्नुभएको थियो । यसपल्ट भने भट्टले मुख्यमन्त्रीको आश्वासन पाएकाले प्रदेश निर्वाचन लडेको दाबी गर्नुभयो । ‘मैले मुख्यमन्त्री पाउने समझदारीअनुसार प्रदेशमा चुनाव लडेको हुँ । निर्वाचनपछि पनि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको छ’, उहाँले भन्नुभयो ।
यता, नेपाली कांग्रेसबाट भावी मुख्यमन्त्रीका रूपमा हेरिनुभएका प्रकाश देउवा प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिवसमेत रहिसक्नु भएका देउवा प्रदेशसभा सदस्यतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट निर्वाचित हुनुभएको हो । ‘निर्वाचनको नतिजा आइसकेको र त्यसबाट कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ,’ देउवाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘कुनै पार्टीलाई नेतृत्व दिनेबारे हालसम्म केही छलफल भएको छैन । यसबारे कसैले पनि केही बोलेका छैनन् । प्रदेशसभाको ठूलो दलका हिसाबले कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिम सरकार बन्छ ।’
तर, प्रदेशमा नेताहरूले दाबी गरेको भन्दा पनि गठबन्धनले केन्द्रमा गरेको सहमतिका आधारमा कसको नेतृत्वमा सरकार बन्ने निश्चित गर्ने नेपाली कांग्रेसका कैलाली जिल्ला सचिव निर्प सुनार बताउनुहुन्छ । ‘स्वाभाविक रूपमा ठूलो दलको हैसियतमा कांग्रेसको दाबी रहन्छ,’ सुनारले भन्नुभयो, ‘तर, गठबन्धन बनाएर चुनाव भएकाले केन्द्रमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने सहमति हुन्छ त्यसैअनुसार यहाँको सरकार पनि बन्छ । नेतृत्व कसले पाउने भन्ने विषय पार्टीको केन्द्रीय नेतृत्वको समझदारीले तय गर्ने हो । सातमध्ये कुन प्रदेश कसले पाउने समझदारी माथि नै होला ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच