सडक र पुल निर्माणमा कांग्रेसको ध्यानाकर्षण

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । नेपाली कांग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गुल्मी क्षेत्र नम्बर १ को सुदूरपूर्व कालीगण्डकी गाउँपालिकाभित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरूको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।

पार्टी सचिव जगदीश भट्टराईले सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख ई. प्रदिपमणि निरौलालाई सडक र मोटरेबल पुल निर्माणका विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । उहाँले कार्यालयमै गएर डिभिजन प्रमुख निरौलालाई कालीगण्डकी गाउँपालिकाभित्र ठेक्का भएर पनि पुल निर्माणको काम रोकिएको र खाल्डाखुल्डीका कारण सडकसमेत अस्तव्यस्त भएको भन्दै तत्काल रोकिएका र स्तरोन्नतिको काम अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन भन्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

कालीगण्डकी गाउँपालिका-४ स्थित, पूर्तिघाट नजिकै पातीखोलामा पुल निर्माणको काम सुरु भए पनि वर्षाको समयमा त्यसको बेस नै बगाएका कारण अलपत्र अवस्थामा रहँदासमेत अहिलेसम्म कुनै पनि काम अगाडि बढ्न नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मदन भण्डारी सडक कार्यालयबाट पुल निर्माणका लागि गत वर्षदेखि नै निर्माण कम्पनीले काम सुरु गरे पनि अहिले काम रोकिएकाले तत्काल काम अगाडि बढाउनका लागि विभागमा आवश्यक पहल गरिदिन पार्टी सचिव भट्टराईले डिभिजन प्रमुख निरौलालाई आग्रह गर्नुभएको छ ।

यस्तै, दुई वर्षअघि ग्राभेलको कामको ठेक्का गरी सम्पन्न भएको र कालोपत्रेको काम गर्नुपर्ने बाँकी रहेका सडकहरूको कामसमेत अगाडि बढाउन विभागलाई कांग्रेसले आग्रह गरेको छ । मिर्मी र हर्मिचौर जोड्ने, कालीगण्डकी विद्युत् परियोजनाको ड्यामदेखि हर्मिचौर जिरो अर्थात् करिडोरसम्म जोड्ने बाटोको ग्राभेल तथा नालीको काम सम्पन्न भइसके पनि कालोपत्रे नहुँदा सवारी आवागमनमा समस्या भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । स्थलगत अनुगमन गरी यथाशक्य छिटो लागत स्टिमेट गराई सो कार्यका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गरिदिन सचिव भट्टराईले सडक कार्यालयलाई आग्रह गर्नुभयो ।

तत्कालीन सडक पूर्वाधार कार्यालय तम्घासले ठेक्का गरी दुई वर्षअघि नै पुनर्निर्माण कार्यालयअन्तर्गत कालीगण्डकी-४ पूर्तिघाटदेखि वडा नं. ५ लुंगखोला फोक्सिङसम्मको १२ किलो सडक ग्राभेल भइसकेको तर कालोपत्रे हुन नसकेको कांग्रेसले जनाएको छ । यो सडकले कालीगण्डकी, सत्यवतीलगायत सुदूरपूर्वका तीनवटा स्थानीय तहलाई समेट्ने भएकाले यसको कालोपत्रेका लागि तत्काल कार्य सञ्चालन गर्ने व्यवस्था मिलाइदिन पनि कांग्रेसले आग्रह गरेको छ । यस्तै, हर्मिचौर, दिहिङ, गिदुवा, ठूलोलुम्पेक हुँदै सत्यवती गाउँपालिका जोड्ने १५ किलोमिटर मोटरबाटो ग्राभेल र कालोपत्रे गर्नका लागि २०७३ सालमै विस्तृत अध्ययन (डिपिआर) भए तापनि काम हुन नसकेकाले पुनः स्थलगत अवलोकन गरी कार्य अगाडि बढाउनका लागि विभागमा पहल गरिदिन पनि सचिव भट्टराईले डिभिजन प्रमुख निरौलालाई आग्रह गर्नुभयो । ध्यानाकर्षण पत्र बुझ्दै डिभिजन प्रमुख निरौलाले सडक र पुल निर्माणका विषयमा भएको ध्यानाकर्षणलाई आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले अहिले ती क्षेत्रको सडक र पुल निर्माण योजनामा समावेश नभएकाले तत्काल योजनामा समावेश गर्न पहल गर्ने बताउनुभयो । प्रमुख निरौलाले डिपिआर भए पनि योजना नहुँदा समस्या भएकाले त्यसको समाधानमा आफूले विभागमा तत्काल पहल थाल्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?